रसीद आलम
बारा, १० बैशाख – सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराको १८ औं स्थापना दिवस–२०८२ को अवसरमा आयोजित वार्षिक उत्सव कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जितपुर, बाराका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) प्रकाश चन्द्र भट्टलाई प्रशंसा-पत्र सहित सम्मान गरिएको छ।
तस्करी नियन्त्रण र राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्याएको उच्च मूल्याङ्कन गर्दै सशस्त्र प्रहरी बल, मधेस प्रदेश प्रमुख डिआईजी कालीदास धौवजीले डिएसपी भट्टलाई सम्मान गरेका हुन्।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराका प्रमुख गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सीका अनुसार, डिएसपी भट्टले आफ्नो पदीय दायित्व निर्वाह गर्दै अनुशासित, कर्तव्यनिष्ठ र लगनशील भई शान्ति सुरक्षा तथा राजस्व संकलनमा विशेष भूमिका निभाएका छन्।
जितपुर वेश प्रमुखको जिम्मेवारी सम्हालेको चार महिनाको अवधिमा भट्टको नेतृत्वमा करिब ४० लाख रुपैयाँ बराबरको भन्सार छलिएका अवैध कपडा, किराना र खाद्यान्न सामग्री बरामद गरी वीरगञ्ज भन्सार दाखिला गरिएको छ, जसले राजस्व संकलनमा उल्लेखनीय सहयोग पुर्याएको छ।
कार्यक्रममा भविष्यमा पनि यस्तै उत्कृष्ट कार्यको अपेक्षा राख्दै भट्टको उज्ज्वल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो।
