काठमाडौं, बैशाख ५ ।
इस्लामी संघ नेपालले वीरगञ्जमा हालै भएको साम्प्रदायिक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मुस्लिम समुदायप्रति लक्षित आक्रमण, उनको छविमा आँच आउने प्रयास र समुदायको सुरक्षाको विषयमा चासो व्यक्त गर्दै इस्लामी संघको नेतृत्वमा मुस्लिम अगुवाहरूले गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्।
बैशाख ४ गते बिहीबार बुझाइएको ज्ञापनपत्रमा पाँचवटा मुख्य बुँदाहरू समेटिएका छन् –
१. समस्या समाधानका लागि तत्कालिक उपाय मात्र नभई दीर्घकालीन र दिगो समाधान खोजिनुपर्छ।
२. शान्ति र सुव्यवस्थाको मामलामा गृह प्रशासन कमजोर देखिएको छ।
३. वीरगञ्ज घटनाका दोषी जो कोही भए पनि कडा कारबाही होस्।
४. विभिन्न ‘सेना’ नामधारी समूहहरूको गैरकानूनी गतिविधि तत्काल बन्द गरियोस्।
५. मुस्लिम समुदायको छवि बिगार्ने कार्य रोकियोस् र तिनको सामुदायिक सुरक्षाको प्रत्याभूति गरियोस्।

इस्लामी संघ नेपालका अध्यक्ष नजरुल हसन फलाहीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ कि वीरगञ्जको घटनाले मुस्लिम समुदायप्रति पटक–पटक दोहोरिने आक्रमणको क्रमलाई पुनः उजागर गरेको छ। नेपालगञ्ज, सर्लाही लगायतका अघिल्ला घटनाहरू सम्झँदै विज्ञप्तिमा भनिएको छ, “यसरी अल्पसंख्यक समुदाय लक्षित आक्रमण हुनु गम्भीर आपत्तिको विषय हो।”
विज्ञप्तिमा घटनाअघि सामाजिक सञ्जाल र ह्वाट्सएपमा देखिएका योजनाबद्ध हिंसात्मक सन्देशहरू, धार्मिक जुलुसको मार्ग मुस्लिम बाहुल्य क्षेत्रमा मोडिएको प्रसंग र प्रहरी प्रशासनको निष्क्रियतालाई गम्भीर प्रश्नका रूपमा उठाइएको छ।
“यदि यस्ता अपराधमा संलग्नलाई पटक–पटक छुट दिइनै रहने हो भने देशमा अराजकता, हिंसा र द्वेष फैलन सक्छ,” विज्ञप्तिमा चेतावनी दिइएको छ।
मुस्लिम समुदायले आफूहरू राष्ट्रप्रेमी, सहिष्णु र ऐतिहासिक रूपमा देश निर्माणका साझेदार भएको भन्दै, यस्तो प्रवृत्तिबाट आफ्नो छवि बिगार्ने प्रयास अस्वीकार्य रहेको स्पष्ट पारेका छन्।
ज्ञापनपत्रमार्फत संघले दोषीलाई कडा कानुनी कारबाही, शान्ति सुरक्षा प्रत्याभूति र यस्ता घटनाको पुनरावृत्ति रोक्न राज्यसँग तत्काल र प्रभावकारी कदम चाल्न माग गरेको छ।
