रसीद आलम
बारा, चैत ५ – बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१६, भुईपुलस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो कार र टिप्पर एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
दुर्घटना १४:५५ बजे भएको हो। इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी निरीक्षक सुमित कुशवाहाको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ०६०७ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको बा.०१–०२५ च ५०७६ नम्बरको कार एकआपसमा ठोक्किँदा कारमा सवार दुईजना गम्भीर घाइते भएका थिए।
घाइतेलाई उपचारका लागि प्रसूति अस्पताल निजगढमा लगिएको थियो। तर, १५:४५ बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्। मृतकमध्ये एक जना सर्लाही बर्हथवा नगरपालिका–१५, हजरियाका ४६ वर्षीय नारायण हरि शर्मा रहेका छन्। अर्का कार चालकको हुन।उहाँको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि टिप्पर चालक फरार रहेका छन् भने टिप्पर र कार दुवै सवारीसाधन घटनास्थलमै रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
