सुनसरी, वैशाख २२ –
सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारीबाट भारतिय नम्बरको एम्बुलेन्समा लुकाइछिपाई ल्याउँदै गरिएको १८० किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा वैशाख २० गते राति ९ बजे इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट खटिएको प्रहरी टोलीले लोकमार्ग तथा भित्री सडकहरूमा सवारी चेकजाँचको क्रममा BR38P5414 नम्बरको एम्बुलेन्सलाई रोक्दा उक्त परिमाणको गाँजा फेला परेको हो।
गाँजा ६ वटा बोरामा लुकाइएको अवस्थामा बरामद भएको हो। घटनासँग सम्बन्धित एम्बुलेन्स चालक, बराहक्षेत्र नगरपालिका–४ का २५ वर्षीय श्रीराज कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
प्रहरीले लागूऔषधको ओसारपसारमा एम्बुलेन्सजस्तो सेवा साधनको दुरुपयोग हुन थालेकोप्रति चिन्ता व्यक्त गरेको छ।
