वीरगंज, २२ वैशाख ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१७ स्थित आइसीपी चोकबाट पथलैयातर्फ जाँदै गरेको डब्लुबी ११ ई ६६६२ नम्बरको भारतीय कन्टेनर ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। वैशाख २२ गते साँझ ४:४० बजे विशेष सूचनाका आधारमा उक्त ट्रकलाई जाँच गर्दा प्रज्ञापनपत्रमा उल्लेखित बिल–विजकभन्दा बढी तथा फरक प्रकारका सामान रहेको पाइएको हो।
सशस्त्र प्रहरी पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौबाट स.प्र.ना.उ. (डिएसपी )कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको टोलीले ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया–बारामा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
उक्त ट्रक र सोमा रहेका `प्राइमर’ नामक सामानको मुल्यांकन करीब १ करोड १५ लाख रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
डिएसपी पुजारा अलौ गुल्ममा खटिएपछि दुई महिनाभित्रै तस्करीका ठूला सञ्जाल तोड्दै करोडौं मूल्यका भन्सार छलिका सामानहरू नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएका छन्। राजस्व संकलनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका डिएसपी पुजाराको सक्रियतालाई स्थानियले सराहना गरेका छन्।
