बारा ,२२ बैशाख । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२० बसतपुरस्थित भिखारी महरा चमारको गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। वैशाख २२ गते १:५० बजेको समयमा राति लामखुट्टे धपाउन बालिएको आगोको झिल्कोबाट गोठमा आगलागी भएको जानकारी प्राप्त भएको हो।
आगलागीको सूचना प्राप्त हुनासाथ ईनर्वासिरा अस्थायी प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक मनोज तिवारीको कमाण्डमा दुई जनाको टोली खटिएको थियो। घटनास्थलमा पुगेको टोली, स्थानीयवासी, नेपाल प्रहरी र दमकलको सहयोगमा आगो दिउँसो २:५० बजेसम्ममा पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको बारा प्रहरीले जनाएको छ।
आगलागीबाट गोठ र गोठमा रहेको पराल पूर्णरूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार करिब ४ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ। साथै, गोठमा रहेका दुई वटा भैँसी गम्भीर रूपमा जलेका छन्। मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ।
