वीरगञ्जमा कार दुर्घटना : एक जनाको मृत्यु, तीन गम्भीर घाइते

समाचार

वीरगञ्ज, २५ जेठ । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपरा नजिकै रेनुका पेट्रोल पम्पको छेउमा आइतबार दिउँसो भीषण कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भारतीय नम्बर प्लेटको कार (बीआर ५५ बी ९१०४) दिउँसो करिब ३:५० बजे अनियन्त्रित भई सडक डिभाइडर पार गर्दै किनारको बत्तिको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाको सीसीटीभी फुटेजबाट समय र घटनाको पुष्टि गरिएको प्रहरीले जनाएको छ। कार वीरगञ्ज बसपार्कतर्फ आउँदै गर्दा अत्यधिक गति र चालकको लापरबाहीका कारण अनियन्त्रित भएको देखिएको छ।

दुर्घटनामा घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि बारास्थित एलएस न्युरो अस्पतालमा लगिएको थियो। तर, करिब ३० वर्षीय बिटु सर्राफको टाउको, मुख र कानमा गम्भीर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको चिकित्सकहरूले बताएका छन्। घाइतेमध्ये भारतको बेतिया नरकटियागञ्ज निवासी करिब ४० वर्षीय चालक गणेश सर्राफ, २० वर्षीय रतन सर्राफ र अर्का घाइते २१ वर्षीय बिटु सर्राफको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *