वीरगंज, ३१ जेठ — पर्सा जिल्लाको प्रमुख सहर वीरगंज महानगरपालिकाभित्र पर्ने सिरिसिया नदिको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ। विभिन्न उद्योगधन्दा र कलकारखानाबाट निस्कने विषालु रसायन मिसिएको फोहोर पानीका कारण यो नदी अहिले चरम प्रदूषणको चपेटामा परेको छ। नदीको पानी कालो र दुर्गन्धित बनेको छ भने यसको आसपासको वातावरण समेत प्रदूषित हुँदै गएको छ।
स्थानीयवासी र जानकार स्रोतहरूका अनुसार सिरिसिया नदीमा पर्सा र बारा जिल्लाका दर्जनौँ उद्योग कलकारखानाबाट सिधै प्रदूषित फोहोरपानी मिसिने गरेको छ। वीरगंज महानगरपालिकाले विगतमा विभिन्न चरणमा नदी सफाइ अभियान सञ्चालन गरे पनि ठोस परिणाम नआएको गुनासो स्थानियको छ।
महानगरले केही उद्योगहरूलाई जरिवाना समेत गराएको थियो। तर ती कारबाही केवल कागजी रूपमा सीमित भएका छन्, प्रदूषण रोकथाममा खासै असर परेको छैन। यसबाट स्पष्ट हुन्छ कि नीतिगत तहमा मात्रै नभई व्यवहारिक कार्यान्वयनमा समेत कमजोरी छ।
स्थानीय समाजसेवी, पर्यावरणविद् र बुद्धिजीवीहरू भन्छन्, “नदी सफाइ एकदिनमा सकिने काम होइन। यो दीर्घकालीन र साझा प्रयासबाट मात्र सम्भव छ। वीरगंज महानगर एक्लैले प्रयास गर्दा सम्भव हुँदैन, जबसम्म बारा–पर्साका सम्पूर्ण जनसमुदाय, उद्योगी–व्यापारी, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा सबै सरोकारवालाहरू स्वस्फूर्त रूपमा लाग्दैनन्, तबसम्म सिरिसिया नदिको मुहार फेरिने छैन।”
उनीहरूको भनाइमा, उद्योग–धन्दा सञ्चालन गर्नु अनुचित होइन तर त्यसबाट निस्कने फोहोर पानीको शुद्धीकरण बिना नदीमा हाल्नु पूर्ण रूपमा गैरकानुनी र अनैतिक हो। नदीमा मिसिने फोहोर पानीको उपचारका लागि ‘इफ्लुएन्ट ट्रीटमेन्ट प्लान्ट’ (ETP) स्थापना अनिवार्य गर्नुपर्ने सुझाव दिएका छन्।
सिरिसिया नदीका विभिन्न क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड छठ पर्व मनाइन्छ। श्रद्धालुहरू प्रदूषित पानीमै व्रत बस्न बाध्य छन्, जुन उनीहरूको स्वास्थ्यका लागि गम्भीर जोखिम बन्ने देखिन्छ।
सिरिसिया नदीको संरक्षण तथा पुनर्जीवनका लागि अब स्थानीय सरकार, संघीय सरकार, सरोकारवाला निकाय र नागरिकहरूको साझा प्रतिबद्धता र स्वामित्व आवश्यक भएको स्थानीयले जोड दिएका छन्।
नदी सफाइ अभियानमा अब के गर्न सकिन्छ ?
- प्रत्येक उद्योगबाट निस्कने फोहोर पानीको प्रशोधन अनिवार्य गरिनुपर्छ।
- नदी छेउका बासिन्दाहरूमा वातावरणीय चेतना अभिवृद्धि गरिनुपर्छ।
- सामूहिक नदी सफाइ कार्यक्रमहरूलाई नियमित बनाइनुपर्छ।
- सरोकारवाला निकायबीच समन्वय कायम गरिनुपर्छ।
- छठजस्ता धार्मिक पर्वमा स्वच्छ पानीको व्यवस्था सुनिश्चित गरिनुपर्छ।
स्थानीयको भनाइ छ, “हामी सबैले व्यक्तिगत र सामूहिक रूपमा दायित्व बोध गर्न जरुरी छ। जबसम्म नागरिक स्वयं जागरूक र प्रतिबद्ध हुँदैनन्, तबसम्म कुनै पनि प्रयास सफल हुन सक्दैन।”
अब समय आएको छ – सिरिसिया नदीलाई पुनः जीवन्त बनाउने। यो केवल एक प्राकृतिक सम्पदा मात्र होइन, बारा–पर्साको सामाजिक, सांस्कृतिक र धार्मिक अस्मिता पनि हो।
