बिरगंज नगवामा सशस्त्र प्रहरीको छापामारी, लाखौँको अवैध सामानसहित मोटरसाइकल बरामद

समाचार

वीरगञ्ज, १० असार । सशस्त्र प्रहरी बल नेपालले वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित एक घरमा छापामारी गर्दै लाखौँ रुपैयाँ बराबरको अवैध सामानसहित एक मोटरसाइकल बरामद गरेको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा वीरगञ्जस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले डिएसपी लोकेन्द्र सुब्बाको कमाण्डमा सोमबार वीरगञ्ज भन्सार कार्यालयसँगको संयुक्त टोलीले रमुना सहनीको तीनतले पक्की घरको ग्राउण्ड फ्लोरका दुई वटा कोठामा अवैध रूपमा गोदाम गरी राखिएको सामान बरामद गरेको हो।

बरामद गरिएका सामानहरूमध्ये भारतबाट भन्सार छली ल्याइएका जिरा, सोफा कभर, रिभोल्भिङ चेयर, चेयर ह्वील्सलगायतका सामानको अनुमानित मूल्य ४ लाख ५७ हजार ७०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। साथै उक्त सामान ओसारपसार गर्न प्रयोग गरिएको ना. १८ प ४१७८ नम्बरको मोटरसाइकल पनि टोलीले नियन्त्रणमा लिएको छ, जसको मूल्य अनुमानित १ लाख रुपैयाँ रहेको बताइएको छ।

घरधनी रमुना सहनी भने छापामारीका क्रममा घरमै नभेटिएकाले उनी फरार रहेको र सशस्त्र प्रहरी बलले घरबाट बरामद गरिएका सबै सामान तथा मोटरसाइकल गरी जम्मा ५ लाख ५७ हजार ७०० रुपैयाँ बराबरको मालवस्तु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइसकेको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले आफ्नो अभियानलाई निरन्तरता दिँदै आएको मधेस प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालले बताएका छन् । यस्ता कार्यहरूप्रति चासो राख्दै स्थानीय प्रशासनले अवैध तस्करीविरुद्ध कडाइका साथ नियन्त्रण गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *