बारा प्रहरीले ९० लाखभन्दा बढी मूल्यका सामानसहित दुई ट्रक राजश्व अनुसन्धानमा बुझायो

समाचार

बारा, १४ असार । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले राजश्व छलीको आशंकामा ९० लाख ६४ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका सामान लोड गरिएका दुई वटा कन्टेनर ट्रक नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले जीतपुर सिमरा उप-महानगरपालिका–७ स्थित प्रहरी चेकपोइन्टमा दुई ट्रकलाई जाँच गर्दा बिल–बिजकभन्दा बढी सामान फेला परेपछि उक्त कारबाही गरिएको हो।

पहिलो ट्रक, ना ५ ख ३५५९ नम्बरको कन्टेनर, मिति २०८२/०३/१२ गते राति ११:४० बजे झापा तर्फ जाँदै गर्दा रोकी चेकजाँच गर्दा उक्त ट्रकमा अन्दाजी ४० लाख १ हजार ४६९ रुपैयाँ बराबरको मेडिकल सामग्री, कपडा, ट्याब्लेट र अन्य खुद्रा सामान फेला परेको थियो। ट्रक प्रहरी नायब निरीक्षक (प्र.ब.ना.नि.) जे जंग कार्कीको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

त्यस्तै, दोस्रो ट्रक, ना ३ ख ७३११ नम्बरको कन्टेनर, मिति २०८२/०३/१३ गते बिहान २:४० बजे काठमाडौँतर्फ जाँदै गर्दा रोकी जाँच गर्दा अन्दाजी ५० लाख ६३ हजार ४३६ रुपैयाँ बराबरको रेडिमेड कपडा, टायर लगायत अन्य सामग्री फेला परेको थियो। उक्त ट्रक प्रहरी निरीक्षक (प्र.स.नि.) राजन सिवाकोटीको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

दुवै ट्रकमा रहेको सामानहरू राजश्व छलीको आशंकामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ।

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *