सिमराका डिएसपी जोशीको सशक्त एक्सन : करिब १० लाख बराबरको अखाद्य तेलजन्य पदार्थ, पेट्रोलियम पदार्थ र ट्रक सहित एक व्यक्ति पक्राउ

समाचार

रसीद आलम, बारा,  असार २३
जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी वेद प्रकाश जोशीले कार्यभार सम्हालेको छोटो समयमै ठूला सफलता हात पार्न थालेका छन्। प्रहरीको सशक्त निगरानी र सक्रियता अन्तर्गत डिएसपी जोशीको नेतृत्वमा प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको अवैध तेलजन्य पदार्थ र ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले दिएको जानकारीअनुसार, २०८२ साल असार २२ गते अपराह्न करिब ३ बजेको समयमा बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हलेसी पेट्रोल पम्प नजिकैको एक खाली स्थानमा अवैध रूपमा तेलजन्य पदार्थ बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराको टोलीले छापा मारेको हो।

छापामारी टोलीले सो स्थानमा विष्णुराज ठकुरीको जग्गामा रहेको वास ग्यारेज पछाडिको खाली ठाउँमा सुरेन आलेले सञ्चालन गर्दै आएको ग्यारेजमा ना.१ क. २८३६ नम्बरको मिनी ट्रक लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो। सो ट्रकका चालक फत्तेपुर निवासी २१ वर्षीय सुवास चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डिएसपी बिजयराज पण्डितले जानकारी दिएका छन्।

बरामद गरिएका वस्तुहरूको विवरण यसप्रकार छ:

१. बनस्पति जन्य तेल जस्तो देखिने अखाद्य पदार्थ
– १००० लिटर क्षमताका ६ वटा ड्रम र १५ लिटरका ५३ वटा ग्यालेनमा भरेको
कुल परिमाण: ५,७९५ लिटर
अनुमानित मूल्य: रू. ६,३७,४५०।–

२. पेट्रोल
– २०० लिटरका ५ वटा ड्रममा
कुल परिमाण: १,००० लिटर
अनुमानित मूल्य: रू. १,६२,०००।–

३. डिजेल
– २०० लिटरका ३ वटा ड्रममा
कुल परिमाण: ६०० लिटर
अनुमानित मूल्य: रू. ८७,६००।–

४. मट्टितेल
– २०० लिटरका २ वटा ड्रम, १ वटा १०० लिटरको ड्रम र १५ वटा २० लिटरका ग्यालेन
कुल परिमाण: ६०० लिटर
अनुमानित मूल्य: रू. ८९,४००।–

कुल बरामद सामग्रीको परिमाण र मूल्य:

  • कुल परिमाण: ७,९९५ लिटर
  • कुल अनुमानित मूल्य: रू. ९,७६,४५०।–

डिएसपी वेद प्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरीले ट्रक सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा तेलजन्य पदार्थ चोरी गरेर कालोबजारीका लागि भण्डारण गरिएको आशंका गरिएको छ। घटनास्थलबाट बरामद गरिएको ट्रक र तेलजन्य पदार्थ आवश्यक परीक्षण तथा प्रक्रिया पुरा गरी थप कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

यो कारबाहीले बारामा बढ्दो कालोबजारी र अखाद्य तेलजन्य पदार्थको अवैध कारोबारमा अंकुश लगाउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। डिएसपी जोशीको नेतृत्वमा प्रहरी सक्रिय र प्रभावकारी ढंगले क्रियाशील रहेको देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *