रसीद आलम
वीरगञ्ज, असार २६ ।पर्सा क्षेत्र नं. १ का सांसद तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पर्सा जिल्लामा जारी खानेपानी संकटको स्थलगत अनुगमन गरेका छन्। उनले वीरगञ्ज महानगरपालिका वडा नं. २ अन्तर्गतका छपकैयाँ, घुसुकपुर लगायतका क्षेत्रहरूमा आज बिहानैदेखि निरीक्षण गर्दै स्थानीय बासिन्दाहरूको पीडा प्रत्यक्ष सुनेका हुन्।
जलवायु परिवर्तनको प्रतिकूल असरस्वरूप तराई–मधेस क्षेत्रमा परेको खडेरीले खानेपानी अभाव उत्पन्न गरेको भन्दै मन्त्री यादवले समस्याको यथार्थ बुझ्न तीन दिनदेखि प्रभावित क्षेत्रहरूको निरन्तर निरीक्षण गरिरहेको जानकारी दिए।
उनले भने, “तत्काल समस्या समाधानका लागि सरोकारवालाहरूसँग छलफल सुरू भइसकेको छ, साथै दीर्घकालीन समाधान सुनिश्चित गर्न म प्रतिबद्ध छु।”
मन्त्री यादवले स्थानीय तहसँग सहकार्य गर्दै स्रोत परिचालन, दीर्घकालीन योजना निर्माण तथा रणनीति तय गर्ने कार्यमा पहल जारी रहने बताए। उनले संकटको घडीमा आफू सधैं जनताको साथमा रहने स्पष्ट संदेशसमेत दिएका छन्।
