बारा प्रहरीले लागू औषध एम्पुल ओसारपसारमा संलग्न ३ जना भारतीय नागरिकलाई पक्राउ गर्न सफल

समाचार

बारा, असार ३१। लागू औषध नियन्त्रण अभियान अन्तर्गत बारा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागू औषध एम्पुल बरामद गर्दै त्यसमा संलग्न तीन जना भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको छ। प्रहरीको योजनाबद्ध अनुसन्धान र सक्रियताका कारण एक दिनमै सफलतापूर्वक तस्करहरूलाई नियन्त्रणमा लिन सकिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङको कुशल नेतृत्व, कार्यशैली र अनुसन्धान क्षमताका आधारमा मिति २०८२ साल असार २९ गते साँझ करिब ५:०० बजे बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–४, हर्नैया चौकस्थित दुईवटा प्लास्टिक क्यारेटभित्र बेवारिसे अवस्थामा राखिएको लागू औषध फेला परेको थियो।

इलाका प्रहरी कार्यालय महेन्द्रजयनगरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा तलासी गर्दा क्यारेटभित्र लुकाएर राखिएको ४,५०० पिस लागू औषध एम्पुल फेला पार्न सफल भएको हो। प्रारम्भिक अनुसन्धानको क्रममा ती औषधि भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको पुष्टि भएपछि प्रहरी थप अनुसन्धानमा जुटेको थियो।

प्रहरीको निरन्तर अनुसन्धानका क्रममा ती लागू औषधहरू भारत बिहार राज्यको मोतिहारी जिल्ला अन्तर्गत बिजबनी पञ्चायतका तीन जना युवाले ओसारपसार गरिरहेको खुल्न आएको थियो। त्यसै अनुसार, मिति २०८२ असार ३० गते इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको टोलीले बारा जिल्लाको पचरौता नगरपालिका–२, चपुरी चौकबाट ती तीनैजनालाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूको विवरण यसप्रकार छ:

१. कन्हैया कुमार यादव, उमेर १९ वर्ष, पिता–इन्द्रजित राय, ठेगाना–रेगनिया टोल, वडा नं. २, थाना जितना, मोतिहारी, बिहार, भारत।

२. वकिल कुमार यादव, उमेर २० वर्ष, पिता–रंगिलाल प्रसाद यादव, ठेगाना–बलुवा टोल, वडा नं. १, थाना जितना, मोतिहारी, बिहार, भारत।

३. बलिराम कुमार यादव, उमेर २६ वर्ष, पिता–इन्द्रजित राय, ठेगाना–रेगनिया टोल, वडा नं. २, थाना जितना, मोतिहारी, बिहार, भारत।

प्रहरी स्रोतका अनुसार उनीहरूले लागू औषध एम्पुल नेपाल भित्र्याई विभिन्न स्थानमा खपत गराउने उद्देश्यले लुकाइ राखेको प्रारम्भिक बयानबाट खुल्न आएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

बारा प्रहरीले सीमावर्ती क्षेत्र हुँदै नेपालमा लागू औषध तस्करी गर्ने गिरोहविरुद्ध निगरानी कडा बनाउँदै नियमित विशेष अपरेशन सञ्चालन गरिरहेको छ। लागू औषधका कारण युवा पुस्तामा गम्भीर असर परेको भन्दै प्रहरीले यस अभियानलाई अझ प्रभावकारी बनाउने जनाएको छ।

एसपी सन्तोष तामाङको नेतृत्वमा बारा प्रहरीले यसअघि पनि लागू औषध, तस्करी, बैंकिङ अपराध, फरार अभियुक्त लगायतका मुद्दामा उल्लेखनीय सफलता हासिल गरिरहेको छ। लागू औषध नियन्त्रणमा यस प्रकारको कडा कदमले समाजमा सकारात्मक सन्देश जाने प्रहरीको विश्वास छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *