रसीद आलम,बारा, ४ साउन।
जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत मुसहर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ५ किलो लागू औषध गाँजा सहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
प्राप्त जानकारीअनुसार, २०८२ साल श्रावण ४ गते बिहान करिब ८:३० बजेको समयमा प्र.ब.ना.नि. जीवन खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका–४ स्थित बलिरामपुर स्कुल नजिक नेपालबाट भारततर्फ पिठ्युँमा कालो झोला बोकी लुकीछिपी गइरहेका एक व्यक्तिलाई शंकास्पद अवस्थामा रोकेको थियो।
झोला खोली जाँच गर्दा ५ किलो लागू औषध गाँजा फेला परेको हो। उक्त गाँजा लुकाई छिपाई भारततर्फ ओसारपसार गर्न खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ गरेको व्यक्ति भारतको सितामढी जिल्ला डुमराका २९ वर्षीय सावन शर्मा रहेको जनाएको छ। हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
