फरार अपराधीलाई नछोड्ने दृढता: पर्सा प्रहरी प्रमुख एसपी मिश्रको नेतृत्वमा १५ सयभन्दा बढी प्रतिवादी पक्राउ, ३.५५ करोडभन्दा बढी राजस्व असुली

समाचार

रसीद आलम

वीरगञ्ज, ५ साउन।
फरार अपराधीमाथि कडा निगरानी गर्दै पर्सा प्रहरीले हालसम्म १५ सयभन्दा बढी फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। यस विशेष अभियानको नेतृत्व जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले गरिरहेका छन्। अपराध नियन्त्रण तथा कानूनको कार्यान्वयनमा उल्लेखनीय सक्रियता देखाउँदै प्रहरीले ७३ वर्ष २ महिना बराबरको कैद सजाय कार्यान्वयन गराएको छ भने ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ बराबरको जरिवाना समेत असुल गरेको जनाएको छ।

एसपी मिश्रद्वारा सञ्चालित यो “फरार प्रतिवादी नियन्त्रण विशेष अभियान” अन्तर्गत हालसम्म विभिन्न मुद्दामा अदालतले सजाय तोकेर फरार रहेका, भारत तथा नेपालका विभिन्न स्थानहरूमा लुकिरहेका अपराधीहरूलाई खोजी गरी पक्राउ गरिएको हो। यो अभियान एसपी मिश्र कमान्ड सम्भालेको दिन देखि  हालसम्म तीव्र गतिमा अगाडि बढिरहेको छ।

राजनीतिक दबाब र पहुँच अब काम लाग्दैन: एसपी मिश्र

एसपी मिश्रले फरार अपराधीहरूलाई कुनै पनि राजनीतिक दबाब वा पहुँचको भरमा छुट दिइने छैन भन्ने कडा सन्देश दिएका छन्। उनका अनुसार बाँकी रहेका सबै फरार प्रतिवादीहरूलाई समेत चाँडै नियन्त्रणमा ल्याउन अभियान अझ सशक्त र परिणाममुखी बनाइनेछ।

न्यायमा ढिलाइको अन्त्य र जनविश्वासको पुनःस्थापना

अदालतमा सजाय भोग्न बाँकी रहेका अपराधीहरू फरार रहँदा पीडितहरूले वर्षौंदेखि न्याय पाउन नसकेको गुनासो बढ्दै आएको थियो। यो अवस्थाले न्याय प्रणालीप्रति जनविश्वास खस्कन थालेको थियो। यही सन्दर्भमा एसपी मिश्रको नेतृत्वमा पर्सा प्रहरीले न्यायको पहुँच सबैसम्म पुर्‍याउने तथा अराजकता र दण्डहीनता अन्त्य गर्ने दिशामा ठोस कदम चालेको छ।

१५ सय ११ प्रतिवादी पक्राउ, ७३ वर्ष कैद र करोडौँ राजस्व

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार हालसम्म १५११ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिसकिएको छ। ती प्रतिवादीहरूबाट अदालतको फैसलाअनुसार कुल ७३ वर्ष २ महिना कैद सजाय कार्यान्वयन गरिनुका साथै ३ करोड ५५ लाखभन्दा बढी राजस्व संकलन गरिएको हो।

प्रशंसा योग्य प्रहरी सक्रियता

जनसुरक्षा, कानुनी शासन र नागरिकको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न एसपी मिश्रको पहल उत्कृष्ट उदाहरणको रूपमा स्थापित भएको छ। पर्सा प्रहरीको यो सक्रियता सर्वसाधारण र कानुनी अभ्यासकर्ताबाट समेत सर्वत्र प्रशंसा बटुल्न सफल भएको छ।

यस अभियानले स्पष्ट सन्देश दिएको छ— अब अपराध गरेर उम्किने कोही पनि छैन, कानून सबैका लागि समान छ। फरार प्रतिवादीमाथिको कडाइ र निष्पक्ष कार्यवाहीले पर्सा प्रहरीको इमानदार र कर्तव्यनिष्ठ भूमिका अझ प्रस्ट बनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *