रसीद आलम
पर्सा, २१ साउन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा समाजमा बढ्दो अनैतिक तथा आपराधिक गतिविधिहरूको नियन्त्रणका लागि कडा निगरानी तथा कारबाही जारी रहेको छ। सोही क्रममा अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणीजस्ता गम्भीर अभियोगमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।
प्रहरीका अनुसार, मिति २०८२ साल वैशाख २० गते अन्दाजी ३:०० बजेको समयमा नाम, थर र वतन गोप्य राखिएकी एक ३४ वर्षीया महिला पीडितलाई आफ्नै बाख्राको गोठबाट बाख्रा बाँधेर घर फर्किने क्रममा दुई जना अज्ञात व्यक्तिहरूले बाटोमै रोकी बलपूर्वक नियन्त्रणमा लिएर मुखमा कपडाको बिँडो तथा आँखामा कालोपट्टी बाँधेर अपहरण गरेका थिए। पीडितलाई जबरजस्ती वीरगञ्ज बसपार्कस्थित गणेश होटल एण्ड लजको दोस्रो तलामा लगी कोठामा थुनेर पालैपालो जबरजस्ती करणी गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
त्यसपछि मिति २०८२ साल वैशाख २३ गते बिहान ८:०० बजे पीडितलाई पर्सा जिल्लाको घडिअर्वा पोखरी नजिकको गल्लीमा गम्भीर अवस्थामा, एक्लै र रगताम्मे अवस्थामा छाडिएको थियो। पीडितको उजुरीपछि घटनामा संलग्न अभियुक्तहरूको खोजी कार्य प्रारम्भ गरिएको थियो।
घटनापछि फरार रहेका दुई जना अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०८२ साउन २० गते दिउँसो १:१० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित प्रतिमा चोकबाट पक्राउ गरेको हो। पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले दिएको जानकारी अनुसार, पक्राउ परेका व्यक्तिहरूलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।
पक्राउ परेका व्यक्तिहरूको विवरण:
१. नेक महमद, वर्ष अं. ४०, स्थायी ठेगाना — पर्सा, बहुदरमाई नगरपालिका वडा नं. २, सिसियारी। हाल — वीरगञ्ज महानगरपालिका वडा नं. १३, राधेमाई। व्यवसाय — नेक मोटरसाइकल वर्कशपका सञ्चालक।
२. अफताब अन्सारी, वर्ष अं. २१, स्थायी ठेगाना — रौतहट। हाल — वीरगञ्ज महानगरपालिका वडा नं. १३ स्थित नेक मोटरसाइकल वर्कशपमा काम गर्ने।
प्रहरी उपरीक्षक मिश्रको निर्देशनमा सञ्चालित तीव्र अनुसन्धान र प्रभावकारी रणनीतिले समाजमा यस्ता गम्भीर अपराध नियन्त्रणमा सघाउ पुगेको जनाइएको छ। पर्सा प्रहरीले पीडितको गोपनीयता तथा सम्मानलाई प्राथमिकतामा राखी अनुसन्धान अगाडि बढाइरहेको छ।
पर्सा प्रहरीद्वारा यस किसिमका घटनालाई जरा सम्म न्यूनीकरण गर्न आगामी दिनहरूमा अझ कडाइका साथ अनुगमन र कारबाही गरिने प्रतिबद्धता जनाइएको छ।
