वीरगंज, भदौ ७ ।
वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षा शुक्रबार सफलतापूर्वक सम्पन्न गरेको छ । संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्ने अवसर दिलाउनका लागि महानगरले यस वर्ष चारवटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरेको हो ।
यस पटक कक्षा ९ र ११ मा अध्ययन गर्न इच्छुक २ हजार ३ सय १ जना विद्यार्थीले अनलाइन फाराम भरेका थिए । तीमध्ये करिब २ सय ६८ जना अनुपस्थित भएका छन् । बिहान साढे ७ बजे सुरु भई डेढ घण्टा चलेको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो ।
महानगरले प्रत्येक वर्ष कक्षा ९ र ११ का विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । एकपटक छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले क्रमशः कक्षा १० र १२ सम्म सो सुविधा निरन्तर पाउने व्यवस्था गरिएको उप–प्रमुख इम्तियाज आलमले बताउनुभयो ।
यस वर्ष महानगरभित्रका ८० वटा विद्यालयमा कक्षा ९ र ३८ वटा विद्यालयमा कक्षा ११ का लागि छात्रवृत्ति कोटा तोकिएको छ । विद्यालयको विद्यार्थी संख्याको १० प्रतिशत बराबर छात्रवृत्ति सिफारिस गर्नुपर्ने नियम अनुसार क्लस्टर प्रणालीमार्फत सफल विद्यार्थीलाई विद्यालय सिफारिस गरिनेछ ।
छात्रवृत्तिको सिफारिस गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका र महानगरका स्थायी बासिन्दा रहेका विद्यार्थीलाई प्राथमिकता दिइने छ । साथै महिला, दलित, आदिवासी–जनजाति, अपाङ्गता भएका विद्यार्थी, शहीद तथा बेपत्ता परिवारका बालबालिका र मधेश आन्दोलनका घाइते बालबालिकाका लागि छुट्टै आरक्षण कोटा राखिएको छ ।
प्रश्नपत्र तयारीदेखि उत्तरपुस्तिका व्यवस्थापनसम्म सम्पूर्ण प्रक्रिया पारदर्शी ढंगले गरिएको महानगरले दाबी गरेको छ । परीक्षा नतिजा केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको शिक्षा महाशाखाले जनाएको छ । नतिजा प्रकाशनपछि छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई सम्बन्धित विद्यालयमा पठाउन प्रशासनिक प्रक्रिया सुरु गरिनेछ ।
