पर्सा, ११ भदौ ।
सशस्त्र प्रहरी बल पर्साले करिब रु.१९ लाख २५ हजार ७३६ बराबरको अवैध सामान तथा मोटरसाइकल बरामद गरी भन्सारमा दाखिला गरेको छ ।
मिति २०८२ भदौ ११ गते सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्सा मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१० अशोक बाटिका स्थित सिता थापाको घरमा भण्डारण गरी राखिएको कपडा बरामद गरेको हो ।
त्यस क्रममा BR २२ S ०७०१ नम्बरको भारतीय मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको Afzal Double Apple Flavour, कपडा तथा किराना सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामानको भन्सार मूल्य रु.१७,८५,७३६ बराबर रहेको छ भने सो कार्यमा प्रयोग गरिएको मोटरसाइकलको मूल्य रु.१,४०,००० आकलन गरिएको सशस्त्र प्रहरी पर्साका एसपी पुरन चन्द्र भट्टले जानकारी दिए ।
बरामद सामान र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन् ।
