पर्सामा चोरी तथा लागुऔषध प्रकरणमा युवक पक्राउ, लाखौं नगद र सुनचाँदीका गरगहना बरामद

समाचार

पर्सा, १५ भदौ ।
समाजलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन र चोर, बदमाश नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन पर्सा प्रहरी सक्रिय हुँदै आएको छ। यसै क्रममा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको नेतृत्वमा सञ्चालन गरिएको अपरेशन अन्तर्गत एक जना युवक चोरी तथा लागुऔषध सम्बन्धी अभियोगमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार मिति २०८२ भाद्र ६ गते दिउँसो ३:३० बजेको समयमा रौतहट मौलापुर–१ घर भई हाल वीरगञ्ज महानगरपालिका–१५, शिरोमणी टोल बस्ने ४६ वर्षीय रामपुकार प्रसाद यादवको श्रीमती सविता कुमारी देवी काम विशेषले घरमा ताल्चा लगाएर बाहिर गएको बेला सो कोठाको ताल्चा फोडी करिब भारतीय रुपैयाँ १ लाख २९ हजार ८ सय, नेपाली रुपैयाँ १ लाख २५ हजार तथा सुन–चाँदीका गरगहना चोरी भएको भन्ने सूचना प्रहरीमा प्राप्त भएको थियो।

सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले प्राप्त गरेको CCTV फुटेजका आधारमा पटक–पटक चोरीका मुद्दामा सजाय भोगिसकेका वीरगञ्ज–१६ बस्ने ३५ वर्षीय शेख साहेबजान मियाँ उर्फ मखु संलग्न रहेको पुष्टि भएको बताइएको छ। त्यसपछि भाद्र ८ गते उनलाई नियन्त्रणमा लिइ चोरी मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।

तर विशेष सूचना तथा थप अनुसन्धानको क्रममा आरोपीको घर खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध गाँजा, नगद लाखौं रुपैयाँ र चोरी गरिएका विभिन्न सुन–चाँदीका गरगहना समेत बरामद भएको प्रहरीले जनाएको छ।

बरामद सामग्री

१. लागुऔषध गाँजा जस्तो देखिने पदार्थ – ९ किलो ८०९ ग्राम
२. डिजिटल तराजु – १ थान
३. सुनको झुम्का – २ थान
४. सुनको नाकको नथिया – ४ थान
५. सुनको माङ टिका – २ थान
६. सुनको लकेट सिक्री सहित – १ थान
७. सुनको टप – २ थान
८. चाँदीको पायल – ८ पिस
९. चाँदीको माठा – २ पिस
१०. स्रोत नखुलेको नगद – रु.१५ लाख १५ हजार

थप अनुसन्धान जारी

बरामद सामग्रीसहित पक्राउ परेका साहेबजान मियाँलाई चोरी मात्र नभई लागुऔषधसम्बन्धी कसूरमा समेत अनुसन्धान अघि बढाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए। उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले यस घटनालाई ठूला आपराधिक समूहसँगको संलग्नता समेत रहेको हुनसक्ने आधारमा थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले चोरी तथा लागुऔषध कारोबार जस्ता आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई कानूनको कठघरामा ल्याइ कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *