सामाखुसीबाट ४ करोड २६ लाख बढी नगद, सुन–चाँदीका गरगहना सहित एक पक्राउ

समाचार

काठमाडौं, भदौ १८ ।
काठमाडौं महानगरपालिका–२६ सामाखुसीस्थित एक घरमा लुकाइछिपाइ राखिएको ठूलो मात्रामा नगद र गरगहना प्रहरीले बरामद गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको संयुक्त टोलीले प्राप्त विशेष सूचनाको आधारमा सोमबार दिउँसो घर खानतलासी गर्दा ४ करोड २५ लाख ५० हजार रुपैयाँ नगद, ९ किलोभन्दा बढी सुनजस्तो देखिने धातु र ३ किलोभन्दा बढी चाँदीजस्तो देखिने धातु बरामद गरेको हो।

उक्त धनसम्पत्तिसहित घरधनी गोरखा नगरपालिका–६ घर भई हाल सामाखुसी बस्दै आएका ७७ वर्षीय विनोद कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभाग, हरिहर भवनमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपील राज बोहराले जानकारी दिए।

यसैबीच, सोमबार राति सामाखुसीका श्रेष्ठकै छोरा राजकुमार श्रेष्ठले भाडामा लिएको नयाँबजारस्थित कोठा पनि प्रहरीले खानतलासी गर्दा थप ९० हजार ५०० रुपैयाँ नगद र विभिन्न सुनजस्तो देखिने गरगहना बरामद भएको प्रहरीले जनाएको छ।

बरामद विवरण अनुसार विनोद श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार रुपैयाँ नगद, ९५४१.३६ ग्राम सुनजस्तो धातुको गरगहना र ३२१८.९२ ग्राम चाँदीजस्तो धातुको गरगहना भेटिएको छ। त्यस्तै, राजकुमार श्रेष्ठले भाडामा लिएको घरबाट नगदसहित पाँच थान सुनजस्तो तिलहरी, नौ गेडी जडित पोते, दुई थान औंठी र एक थान लकेट बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद नगद तथा गरगहनाको श्रोत नखुलेको र थप अनुसन्धान जारी रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *