वीरगञ्ज, भदौ १९ ।
संघीय खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जमा देखिएको खानेपानीको दीर्घकालीन समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गरी युद्धस्तरमा काम भइरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत जनतासँग संवाद गर्दै उनले हालै वीरगञ्जमा देखिएको झाडापखाला र हैजाका विरामीहरूको अवस्थाबारे सरकार गम्भीर रहेको जानकारी दिए ।
मन्त्री यादवले जनताको समस्या बुझ्न आफैं पटक–पटक जनताबीच पुगेको उल्लेख गर्दै प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय र स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै आएको स्पष्ट पारे ।
यस क्रममा गत साता आफूलाई अज्ञात महिलाबाट आएको धम्कीपूर्ण फोनबारे उनले जानकारी दिएका छन् । उनले भने, “शुरुमा मलाई लाग्यो, कोही आफन्त गम्भीर बिरामी भएर पीडा पोखिएको होला, तर पछि फोनमा धम्की पनि दिइयो ।”
धम्की सम्बन्धी अडियो सार्वजनिक भए पनि पछि वास्तविक अडियो सार्वजनिक हुँदा सत्य उजागर भएको उनले बताए । सो विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको र सम्बन्धित महिलालाई हिरासतमा राखिएको जानकारी उनले दिएका छन् ।
यद्यपि मन्त्री यादवले फोनकर्ताप्रति व्यक्तिगत पूर्वाग्रह नरहेको बताउँदै कानूनी प्रक्रिया निष्पक्षतामा विश्वास गर्ने बताएका छन् । उनले भने, “जनप्रतिनिधिमाथि रिस पोख्नुलाई सामान्य मानिन्छ तर हत्या धम्की र अफवाह फैलाउनु अस्वीकार्य छ । फोनकर्ताप्रति नरम भइदिनको लागि पनि मैले सचिवालय मार्फत प्रहरीलाई आग्रह गरेको छु ।”
मन्त्री यादवले लोकतन्त्रमा जनताले गुनासो पोख्ने छुट भए पनि अराजकता फैलाउने अधिकार कसैलाई नहुने स्पष्ट पारे ।
