काठमाडौं,१९ भदौ । चर्चित लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको दुःखद् समाचार सार्वजनिक भएको छ । नेपाली लोकगीत विशेषगरी तामाङ सेलो क्षेत्रमा आफ्नो सुमधुर स्वर र विशेष योगदानमार्फत परिचित बनेकी गोलेको निधनले नेपाली संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको मानिएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
ओलीले भन्नुभएको छ, “नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौं उपत्यका आसपास धेरै लोकप्रिय छ । यस विधामा आफ्नो सुमधुर परिचय बनाउनुभएकी गायिका इन्दिरा गोलेको निधन दुःखद् छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।”
गायिका गोलेले दर्जनौँ तामाङ सेलो, लोकगीत तथा दोहोरी गीतमा आफ्नो स्वर दिएका थिए । उहाँका गीतहरू आज पनि लोकसंगीत प्रेमीबीच उत्तिकै चर्चित छन् ।
