वीरगञ्ज, २ असोज ।
गुडविल सोसाइटी संस्थाले मंगलबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामी र तिनीहरूको आश्रितहरूलाई २०० प्याकेट पौष्टिक खाना वितरण गरेको छ। संस्थाका अध्यक्ष अरबाज आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिरामी तथा आफन्तलाई अस्पताल परिसरमै पुगेर खाना वितरण गरिएको थियो।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका प्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। वितरण गरिएको खाना स्वच्छ र पौष्टिक बनाउन विशेष ध्यान दिइएको आयोजकले जानकारी दिएका छन्।
अध्यक्ष आलमले कार्यक्रममा भन्नुभयो, “हामीले यो अभियानलाई निरन्तरता दिनेछौं। अस्पतालमा उपचाररत बिरामीलाई स्वस्थ र पौष्टिक खाना पुर्याउनु हाम्रो सामाजिक उत्तरदायित्व हो।”
बिरामीका आफन्तहरूले यस्ता सामाजिक कार्यले ठूलो राहत मिल्ने प्रतिक्रिया दिएका छन्। गुडविल सोसाइटीले यसअघि पनि राहत वितरण, रक्तदान तथा स्वास्थ्य शिविर जस्ता परोपकारी गतिविधि सञ्चालन गरिसकेको छ।
