काठमाडौं ,१० चैत । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीप्रति नागरिकको विश्वास अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
काठमाडौंस्थित पशुपतिनाथ बाहिनी मुख्यालयको २२औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सुरक्षाकर्मी देख्दा नागरिकमा डर होइन, भरोसा जाग्नुपर्ने धारणा व्यक्त गरे। उक्त सोचलाई व्यवहारमा उतार्न उनले सम्पूर्ण सशस्त्र प्रहरीलाई सेवामुखी, जिम्मेवार तथा परिणाममुखी कार्यशैली अपनाउन निर्देशन दिए।
राजधानी काठमाडौं सुरक्षा दृष्टिले संवेदनशील र जटिल क्षेत्र भएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले पशुपतिनाथ बाहिनीको कार्यसम्पादनको प्रशंसा गरे। उनले प्रतिनिधिसभा निर्वाचनको शान्तिपूर्ण सम्पन्नता, भीआईपी तथा भीभीआईपी सुरक्षा, महत्वपूर्ण संरचनाको संरक्षण तथा बन्द–हड्तालका बेला नागरिक सुरक्षामा बाहिनीले खेलेको भूमिका उल्लेखनीय रहेको बताए।
निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नेपालको सुरक्षा संयन्त्र सक्षम र प्रभावकारी रहेको प्रमाण भएको उनले बताए।
कार्यक्रममा बाहिनीपति तथा प्रहरी अतिरिक्त महानिरीक्षक सुरेश श्रेष्ठले संगठनको नीति अनुरूप बाहिनीले निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको जानकारी दिए। उपत्यकामा हुने बन्द, हड्ताल, प्रदर्शन तथा विरोधका कार्यक्रमहरूमा शान्ति–सुरक्षा कायम राख्न बाहिनी सक्रिय रहेको उनको भनाइ थियो।
वार्षिकोत्सवका अवसरमा बाहिनीले रक्तदान कार्यक्रम तथा कविता प्रतियोगिता समेत आयोजना गरेको जनाएको छ।
