पर्सा, असोज २ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको सरुवा भएको छ । गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले बुधवार देशभरका ४८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गर्दा एसपी मिश्रलाई कैलाली, धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा पठाएको हो ।
उनको स्थानमा काठमाडौँको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान प्रहरी महाशाखामा कार्यरत प्रहरी उपरीक्षक सुदीपराज पाठकलाई पर्सा जिल्लाको नयाँ एसपीको जिम्मेवारी दिइएको छ ।
गत माघ १४ गतेदेखि पर्सा प्रहरीको कमान्ड सम्हालेका एसपी मिश्रले करिब साढे आठ महिनाको छोटो कार्यकालमै आफ्नो असाधारण नेतृत्व र कार्यकुशलताले पर्सावासीको मन जित्न सफल भएका थिए । तस्करी नियन्त्रणदेखि अपराध नियन्त्रणसम्मका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै उनले समाजमा शान्ति–सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनको कार्यकालमा मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा प्रहरी उत्कृष्ट घोषित भएको थियो । त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा देशभरमै सर्वोत्कृष्ट भई नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सम्मानित पनि भएका थिए । मिश्रले अपराध नियन्त्रणसँगै सामाजिक सद्भाव कायम गर्न र प्रहरी–जनता सम्बन्ध सुदृढ बनाउन ऐतिहासिक योगदान पुरयाएको पर्सावासीले स्मरण गरेका छन् ।
पर्सा जिल्ला नेपालको मुख्य प्रवेशद्वार भएकाले यस क्षेत्रमा चुनौती पनि निकै छन् । भारतसँगको खुला सिमानाका कारण तस्करी नियन्त्रण, अपराध नियन्त्रण, सामाजिक व्यवस्थापन र सुरक्षासम्बन्धी विषयहरूमा सशक्त नेतृत्व आवश्यक हुने बताइन्छ । यस पृष्ठभूमिमा एसपी सुदीपराज पाठकको नयाँ नेतृत्वबाट स्थानीयवासीले ठूलो आशा राखेका छन् ।
स्थानीय नागरिकहरूले अपेक्षा गरेका छन् कि नयाँ एसपी पाठकले पनि एसपी मिश्रले जस्तै तस्करी नियन्त्रण, अपराध नियन्त्रण र सामाजिक सद्भाव कायम गर्दै पर्सामा शान्ति–सुरक्षालाई अझ मजबुत बनाउनेछन् ।
