पर्सामा सशस्त्रले अटो र मोटरसाइकलसहित अवैध सामान तथा कुखुरा चल्ला बरामद

समाचार

वीरगञ्ज, ३ असोज।
सशस्त्र प्रहरी बल नं.१३ गण पर्साले पर्सा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको अपरेसनमार्फत ठूलो परिमाणमा अवैध सामान तथा प्रतिबन्धित कुखुरा चल्ला बरामद गरेको छ। दुई फरक समयमा गरिएको कारबाहीमा अटो र मोटरसाइकलसहित करिब पाँच लाख रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

अटोमार्फत ल्याइएको सामान बरामद

असोज ३ गते दिउँसो करिब १२:४० बजे जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१४ गण्डक इलाकास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म क्षेत्रबाट खटिएको गाडी मोबाइल टोलीले भारततर्फबाट भन्सार छली ल्याइँदै गरेको ठूलो परिमाणको सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको टोलीले ना २ ह ४२७७ नम्बरको अटो रोकेर जाँच गर्दा कपडा, किराना तथा कस्मेटिक सामग्री बरामद गरेको हो। सामानको अनुमानित मूल्य करिब रु. ९०,००० रहेको र अटोको मूल्यसहित जम्मा रु. ३,९०,००० बराबर हुने प्रहरीको अनुमान छ।

सवारी साधन छोडेर व्यक्तिहरू फरार भएका कारण उनीहरूलाई पक्राउ गर्न नसकिएको तर बरामद अटो र सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको गणले जनाएको छ।

मोटरसाइकलमार्फत ल्याइँदै गरेको प्रतिबन्धित कुखुरा चल्ला बरामद

सोही दिन बिहान करिब ६:०० बजे, वीरगञ्ज महानगरपालिका–१९ केहुनिया नजिकै खटिएको अर्को टोलीले भारततर्फबाट अबैध रुपमा ल्याइँदै गरेको ना ४१ प ४२२ नम्बरको मोटरसाइकलमा लोड गरिएको ४,००० गोटा बोईलर कुखुराको चल्ला बरामद गरेको हो।

सशस्त्र प्रहरीका असइ (स.प्र.स.नि.) संजिव कुमार यादवको कमाण्डमा खटिएको ७ जनाको टोलीले नियन्त्रणमा लिएको उक्त प्रतिबन्धित चल्ला ढुवानीमा सङ्गलन रहेको मोटरसाइकलको अनुमानित मूल्य रु. १,००,००० बराबर रहेको छ। चालक मोटरसाइकल छोडी फरार भएका थिए।

बरामद चल्लाहरूलाई बिहान करिब ११:१५ बजे स्थानीय पत्रकार, जनप्रतिनिधि, नेपाल प्रहरी तथा पशु क्वारेन्टिन प्रतिनिधिहरूको उपस्थितिमा गण परिसरमै खाडल खनी पुरी नष्ट गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बरामद मोटरसाइकल भने भन्सार बुझाउने तयारी भइरहेको बताइएको छ।

अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी सक्रिय

सीमावर्ती क्षेत्रमा हुँदै आएका अवैध सामान ढुवानी तथा प्रतिबन्धित वस्तु भित्रिने क्रम रोक्न सशस्त्र प्रहरी बलले आफ्नो निगरानी र चेकजाँचलाई कडा पारेको छ।

नं.१३ गण पर्साले हालैका दिनमा पनि यस्ता धेरै अवैध सामान नियन्त्रणमा लिइसकेको र भविष्यमा अझ कडाइका साथ कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *