वीरगञ्ज, ३ असोज।
संविधान दिवसको अवसरमा जनमत पार्टी पर्साले वीरगञ्जस्थित सहिद स्मारकमा माल्यार्पण गरी सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। कार्यक्रममा सहभागीहरूले जेनेरेसन–जेड (जेन–जी) आन्दोलनका सहिदहरुप्रति मौन धारण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले वर्तमान संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्रको आधारशिला भन्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न अझै संघर्ष आवश्यक रहेको बताए। उनले अधिकार सम्पन्न प्रदेश र राज्यका हरेक अंगमा समानुपातिक सहभागिता सुनिश्चित हुनुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष सरार्फले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख तथा संवैधानिक अंग र आयोगहरूमा प्रतिस्पर्धामार्फत नियुक्ति हुने व्यवस्था जनमत पार्टीको ‘नौलो गणतन्त्र’को विचारधाराको मूल आधार भएको बताए। उनले जेन–जी आन्दोलनका मागहरूको दीगो समाधानका लागि जनमत पार्टी दुई वर्षअघि देखिनै संघर्षरत रहेको स्मरण गराए।
कार्यक्रममा केन्द्रीय सदस्यहरू विद्यालाल प्रसाद, रम्भा मिश्र, श्याम गुप्ता, श्यामशंकर चौरसिया, सन्तोष साह, क्षेत्रीय संयोजक डा. मनोज सरार्फ, महानगर अध्यक्ष महादेव शर्मा, सचिव लोकेश कर्ण, क्षेत्र नं.–२ संयोजक शशी देव यादव, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अन्जना गुप्ता, युवा महानगर संयोजक संजय सिंह, उपाध्यक्ष संजय सरार्फ, हिरालाल राम, विकास गुप्ता लगायतको उपस्थिति थियो।
