रसीद आलम
पर्सा, १३ असोज ।
आसन्न चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको निर्देशनमा विशेष सुरक्षा योजना अनुसार तालिम प्राप्त कुकुर (Dog Sniffing Unit) प्रयोग गरी चेकजाँच अभियान थालिएको हो।
मिति २०८२ असोज १२ गते अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त टोलीले सवारीसाधन तथा पैदल यात्रुहरूको विस्तृत चेकजाँच गरेको थियो। यस क्रममा भारतको रक्सौलतर्फबाट नेपाल प्रवेश गर्ने क्रममा दुई जनाबाट लागुऔषध फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा—
१. कैलाश कार्की, उमेर २७ वर्ष, स्थायी ठेगाना झापा, बाहुनडाँगी वडा नं. १ तथा हाल चितवन, रत्ननगर नगरपालिका–८, बागमाराका बस्ने। उनलाई बाँया हातमा बोकेको प्लास्टिकमा राखिएको खैरो हिरोइन जस्तो देखिने करिब २.५३० ग्राम लागुऔषधसहित नियन्त्रणमा लिइएको हो।
२. राहुल सरार्फ, उमेर २० वर्ष, स्थायी ठेगाना पर्सा, बीरगञ्ज महानगरपालिका–१०, अशोक वाटिका। उनको पाइन्टको बाँया गोजीबाट ONEREX लेखिएको १०० मिलिलिटरको लागुऔषधयुक्त एक बोतल बरामद भएको प्रहरीले जनाएको छ।
दुवै अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ।
एसपी पाठकले चाडपर्वको अवसरमा लागुऔषध तस्करी, चोरी–डकैती तथा अन्य आपराधिक क्रियाकलाप बढ्ने सम्भावना रहने भएकाले सुरक्षामा कुनै कमी हुन नदिने स्पष्ट गरेका छन्। “पर्साको शान्ति–सुरक्षामा कुनै सम्झौता गरिँदैन। सीमा नाकादेखि शहरी क्षेत्रसम्म सुरक्षा सतर्कता उच्च बनाइएको छ,” उनले भने।
प्रहरीले आगामी दिनहरूमा पनि तालिम प्राप्त कुकुरसहितका विशेष टोली परिचालन गरी सशक्त रूपमा चेकजाँच अभियानलाई निरन्तरता दिने जनाएको छ।
