बारा, २४ असोज । बाराको प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा खोलामा टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका २१ वर्षीय बिक्की गोसाईंको शव ६ दिनपछि फेला परेको छ ।
फेटा गाउँपालिका–१ त्रिवेणी खोलाको पुलबाट करिब १०० मिटर दक्षिणतर्फ खोलाको बीच भागमा बालुवाले छोपिएको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको बारा प्रहरीले जनाएको छ ।
गोसाईं असोज १९ गते आफ्ना साथी २० वर्षीय अनुराग केसरवानीसँग टिकटक भिडियो खिच्ने क्रममा खोलामा हाम फालेका थिए । केसरवानी पौडेर बाहिर निस्किए पनि गोसाईं बेपत्ता भएका थिए । त्यसयता उनको खोजी कार्य लगातार जारी थियो ।
शुक्रबार बिहान करिब ७ बजे बिक्कीका बुवा शम्भु गोसाईंले इलाका प्रहरी कार्यालय प्रसौनीलाई जानकारी गराएपछि प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । खोलाको बगरमा खुट्टा र कपडाको आधा भाग बालुवाले ढाकिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मुचुल्का तथा आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ ।
