पर्सा, २ कार्तिक ।
तिहार र छठपर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सशस्त्र प्रहरी बल, नेपाल पर्साले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ। सशस्त्र प्रहरी बल पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टका अनुसार, पर्वका बेला विभिन्न गैरकानुनी गतिविधि हुन सक्ने आशंकाका कारण विशेष सुरक्षा योजना तयार गरी जिल्लाभरका नाकानाकामा कडाइ गरिएको हो।

एसपी भट्टले जनाएअनुसार, सीमावर्ती क्षेत्रहरूमा विशेष निगरानी राखी प्रतिबन्धित पटाका, विस्फोटक पदार्थ, र हातहतियारजस्ता वस्तुहरूको प्रवेश रोक्न प्रहरी सतर्क रहेको छ। साथै, अवैध सामान ओसारपसार तथा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीका विभिन्न टोलीहरूलाई सशक्त रूपमा परिचालन गरिएको छ।
बिरगंज मुख्य प्रवेश द्वारमा रहेको भन्सार चेकपोस्टमा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीको नेतृत्वमा प्रशिक्षित कुकुरद्वारा चेकजाँचमा थप कडाइ गरिएको एसपी भट्टले जानकारी दिए। उनका अनुसार, सिमा क्षेत्रका सबै नाका, गल्ली र सम्भावित बाटाहरूमा चेकिङलाई तीव्र पारिएको छ, जसबाट कुनै पनि गैरकानुनी गतिविधि रोक्न सकियोस्।
एसपी भट्टले भने, “पर्वका अवसरमा जनताको सुरक्षालाई प्राथमिकता दिँदै हामीले सशस्त्र प्रहरी बललाई उच्च सतर्कतामा राखेका छौं। भारतको बिहार राज्यमा निकट भविष्यमै हुने निर्वाचनलाई मध्यनजर गर्दै सिमा आवतजावतमा समेत विशेष सतर्कता अपनाइएको छ।”
उनले थपे, “पर्सा जिल्लाभरका सबै सिमानाकामा कडाइपूर्वक चेकजाँच भइरहेको छ। कुनै पनि आपराधिक समूह वा तस्करहरूले पर्वको माहोल बिगार्न नपाउन् भन्ने हाम्रो प्राथमिक लक्ष्य हो।”
साथै, एसपी भट्टले तिहार र छठपर्वको पावन अवसरमा आम जनसमुदायलाई शान्ति, सद्भाव र मर्यादासँग पर्व मनाउन आग्रह गर्दै शुभकामना व्यक्त गरे। उनले सबै नागरिकलाई कानुनको परिधिभित्र रही उल्लासपूर्वक पर्व मनाउन अनुरोध गर्दै भने, “सुरक्षा निकाय तपाईंहरूको सुरक्षाका लागि खटिएको छ, कृपया सहयोग गर्नुभएन भने यो प्रयास सफल हुँदैन।”
सशस्त्र प्रहरी बल पर्साको सक्रियता र कडाइका कारण सीमाक्षेत्रमा शान्त वातावरण कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
