कञ्चनपुर, ४ कात्तिक ।
तिहारको रौनकले देशभर उज्यालो फैलिँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलमा भने गहिरो सन्नाटा छाएको छ। दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशीको शव आइतबार राति घर पुगेको छ। जोशी हमासको नियन्त्रणमा परेपछि हत्या भएको पुष्टि भएपछि उनको घर शोकमा डुबेको हो।
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल गएका विपिन सन् २०२३ मा हमासको आक्रमणमा परेका थिए। उक्त घटनामा विश्वविद्यालयका १० विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिनलाई बन्धक बनाइएको थियो। करिब दुई वर्षको प्रतिक्षापछि उनको शव बाकसमा स्वदेश फर्किएको हो।
विपिनकी आमा पद्मा र बहिनी पुष्पाले उनको सकुशल रिहाइका लागि इजरायलदेखि अमेरिकासम्म धाएका थिए। तर, सबै प्रयास विफल भए। केही दिनअघि हमासले विपिनको मृत्यु भएको आधिकारिक रूपमा जानकारी दिएपछि परिवार र गाउँलेहरूमा रुवाबासी मच्चिएको थियो। बहिनी पुष्पाले दाइको मृत्युको खबर पाएसँगै तिहारका लागि तयार पारिएका सयपत्री माला उखेलेकी थिइन्।
विपिनको शव सोमबार दिउँसो काठमाडौं ल्याइएर नेपाली सेनाको स्काइ ट्रकमार्फत बेलुकी कैलालीको धनगढी विमानस्थल पुर्याइएको थियो। त्यहाँबाट शव कञ्चनपुरस्थित उनको घरमा लगिएको हो। शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारीहरू पनि घरमै पुगेका थिए।
इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ द्वारा गरिएको परीक्षण रिपोर्ट अनुसार विपिनको टाउकोमा गोली प्रहारबाट मृत्यु भएको पुष्टि भएको छ।
विपिन जोशीको अन्तिम संस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदी किनारमा गरिने बताईएको छ।उनको परिवार मात्र होइन, सिंगो मालिकार्जुन टोल नै आज शोकमग्न छ — उज्यालोको चाड तिहारमा पनि अन्धकार छाएको छ।
