पर्सा, ४ कात्तिक।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज वडा प्रहरी कार्यालय विर्ता, पर्साको आयोजनामा र हेल्प टुगेदर फाउन्डेशन पर्साको सहकार्यमा वीरगंज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम प्रहरी निरीक्षक बिक्रम सुवेदीको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय भद्रभलाद्मी, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। सरसफाई अभियानमार्फत मन्दिर परिसरलाई स्वच्छ र आकर्षक बनाउँदै सहभागीहरूले “सफा वातावरण, स्वस्थ जीवन” भन्ने सन्देश दिएका थिए।
कार्यक्रमका क्रममा प्रहरी निरीक्षक सुवेदीले प्रहरी र नागरिकबीचको आपसी सहकार्यले मात्र समाजमा शान्ति, सुरक्षा र सद्भाव कायम रहन सक्ने बताए। उनले भने, “प्रहरी मेरो साथी भन्ने नाराले प्रहरी र जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ। अपराध नियन्त्रणदेखि समुदाय विकाससम्म प्रहरी सदैव जनताको साथमा छ।”
नेपाल प्रहरीको गौरवपूर्ण आदर्श वाक्य “प्रहरी मेरो साथी” केवल नारा नभई प्रहरी र नागरिकबीचको विश्वास, सहकार्य र मित्रताको प्रतीक हो। प्रहरी केवल अपराध नियन्त्रण गर्ने निकाय मात्र नभई समाजको सुरक्षाका लागि समर्पित जनसेवकका रूपमा कार्यरत छन्।
प्रहरी समाजको शान्ति र सुरक्षा कायम राख्ने मेरुदण्ड हो। अपराध नियन्त्रण, जनसुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यदेखि लिएर नागरिक अधिकारको संरक्षणसम्म प्रहरीको भूमिका महत्त्वपूर्ण रहन्छ। प्रहरी निरीक्षक सुवेदीले नागरिक र प्रहरीबीचको सम्बन्ध आपसी विश्वास र सहकार्यमा आधारित हुनुपर्ने बताउँदै जनताको साना-साना समस्यामा पनि प्रहरी सदैव सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उपस्थित स्थानीयहरूले प्रहरीको सामुदायिक पहलकदमीप्रति प्रशंसा व्यक्त गर्दै यसले समुदायमा सकारात्मक सन्देश पुर्याएको बताए। उनीहरूले प्रहरीको जनसेवा भावना र तत्परताप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सरसफाई, सचेतना तथा सामाजिक कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरे।
नेपाल प्रहरीले आफ्नो मूल लक्ष्य “शान्ति, सुरक्षा र जनसेवा” लाई आत्मसात गर्दै समाजमा स्थायी शान्ति, सुव्यवस्था र नागरिकमैत्री वातावरण निर्माण गर्न निरन्तर प्रयासरत रहेको छ।
यसरी, विर्तामा आयोजित सामुदायिक प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनताबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै “प्रहरी मेरो साथी” भन्ने नारालाई व्यवहारिक रूपमा साकार पार्ने एउटा सफल उदाहरण प्रस्तुत गरेको छ।
