सर्लाही, कार्तिक ६ ।
तिहार र छठपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहत इलाका प्रहरी कार्यालय लालबन्दीले शान्ति सुरक्षा सुदृढ पार्ने उद्देश्यले संयुक्त गस्ती संचालन गरेको छ।

चाडपर्वको समयमा हुन सक्ने हत्या, हिंसा, अपहरण, चोरी, डकैती, पाकेटमारी, लुटपाट जस्ता कुनै पनि अवाञ्छित घटना तथा आपराधिक गतिविधिहरू रोकथाम गर्न नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा लालबन्दी नगरपालिकाका विभिन्न क्षेत्रहरूमा पैदल गस्ती गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार चाडपर्वमा नागरिकलाई निश्चिन्त वातावरणमा पर्व मनाउन सहयोग पुर्याउने उद्देश्यले गस्ती टोलीलाई संवेदनशील क्षेत्रहरूमा परिचालन गरिएको छ। प्रहरीले सवारी साधन, भीडभाड हुने बजार क्षेत्र तथा आवासीय टोलहरूमा विशेष निगरानी बढाएको जनाएको छ।
प्रहरीले स्थानीय बासिन्दालाई पनि कुनै शंका लाग्दो गतिविधि देखिए तुरुन्तै नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन आग्रह गरेको छ।
सर्लाही प्रहरीले चाडपर्वका बेला शान्ति सुरक्षा कायम गर्न सबै निकायको समन्वयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
