लागु औषध कारोबारमा संलग्न जो–कोहीलाई कडा कारबाही हुने चेतावनी:सशस्त्रका मधेस प्रदेश प्रमुख डिआईजी ढकाल

समाचार

बारामा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सम्पन्न, सीमा सुरक्षा र सामुदायिक सहकार्यमा जोड

बारा, २ मंसिर ।
सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी कृष्ण ढकालले लागु औषध नियन्त्रणलाई सशस्त्र प्रहरीको पहिलो प्राथमिकता रहेको बताउँदै यस प्रकारका अवैध कारोबारमा संलग्न जो–कोहीलाई कडा कारबाही हुने चेतावनी दिएका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा., बाराको आयोजनामा सीमावासीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा समुदाय–प्रहरी सहकार्यलाई सशस्त्र प्रहरीले उच्च प्राथमिकताका रूपमा राखेको स्पष्ट पारे।

डिआईजी ढकालले सिमावर्ती बस्तीका नागरिक नै सीमा सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रमुख सहयोगी भएको उल्लेख गर्दै उनीहरूको सहकार्यले अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। “सीमाको पहिलो रक्षक सीमावासी नै हुन्। सुरक्षाकर्मीको प्रयास, नागरिकको सहयोग र सूचनाको आदान–प्रदानले मात्र सीमा अपराध नियन्त्रण सम्भव छ,” ढकालले भने।

सीमा अपराध नियन्त्रण र सहजीकरणमा पनि जोड

उनका अनुसार सशस्त्र प्रहरी बल तस्करी नियन्त्रण, सिमामा हुने आपराधिक क्रियाकलाप रोकथाम, सिमावासीको ज्यान–धनको सुरक्षा तथा अवैध किन्बेच नियन्त्रणमा निरन्तर सक्रिय छ।
भारतसँग ‘रोटी–बेटी’को सम्बन्धका कारण सांस्कृतिक तथा सामाजिक आवागमन धेरै हुने बताउँदै उनले कानुनी दायराभित्र रहँदै दुवै देशका सिमावासीलाई सहज वातावरण दिन सशस्त्र प्रहरी सहयोग गर्दै आएको जानकारी दिए। दैनिक उपभोग्य समान वा विवाह–सम्बन्धी सवारी साधन आवागमनमा सहजीकरण गर्ने ,तर ईनका नाममा हुने अवैध क्रियाकलापप्रति शून्य सहिष्णुता अपनाइने उनको स्पष्ट भनाइ थियो।

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम–२०८२’ भव्य रूपमा सम्पन्न

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीको समन्वयमा तथा नं. १२ गण हे.क्वा., बाराको आयोजनामा मंसिर २ गते ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम–२०८२’ सम्पन्न भयो।
गणपति एसपी खुमबहादुर केसीले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै सीमा सुरक्षा सुदृढीकरण, तस्करी नियन्त्रण, अवैध गतिविधि रोकथाम तथा सीमावासीहरूसँग सूचनात्मक सहकार्य विस्तार गर्ने उद्देश्य राखिएको बताए।

कार्यक्रममा उपस्थित सशस्त्र प्रहरीका अधिकारीहरूले मानव बेचबिखन, तस्करी, अवैध कारोबार, अवैध सवारी साधन सञ्चालन तथा सिमामा देखिने अवाञ्छित गतिविधिबारे विस्तृत जानकारी गराउँदै नागरिक–प्रहरी सहकार्यको महत्वबारे प्रष्ट पारे।

नागरिकलाई आपतकालीन सूचना प्रणालीबारे जानकारी

सुरक्षाकर्मीहरूले आपतकालीन अवस्थामा कसरी प्रहरीलाई छिटो सूचना दिने, शंका लाग्ने गतिविधि देखिएमा कसरी प्रतिवेदन गर्ने तथा सामुदायिक सुरक्षा प्रवर्द्धनमा नागरिकहरूले निभाउने भूमिकाबारे प्रशिक्षणात्मक प्रस्तुति दिएका थिए।

स्थानीयको उत्साहजनक सहभागिता, निरन्तरता माग

कार्यक्रममा स्थानीय पालिका प्रमुख, वडा अध्यक्ष, समाजसेवी, व्यापारी, बुद्धिजीवी तथा सर्वसाधारण गरी ठूलो संख्यामा सहभागिता रहेको थियो। सहभागीहरूले सीमा सुरक्षाबारे यस प्रकारका कार्यक्रमले प्रहरी र समुदायबीचको दूरी घटाउँदै विश्वास, समन्वय र सहकार्य मजबुत बनाउने भएकाले निरन्तरता आवश्यक रहेको सुझाव दिए।

सशस्त्र प्रहरीको प्रतिबद्धता

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सशस्त्र प्रहरीले सामुदायिक समन्वय, गस्ती सुदृढीकरण, सूचना संकलन तथा प्रवाहलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
लागु औषध, तस्करी तथा अन्य सीमा अपराधविरुद्ध शून्य सहिष्णुताको नीतिसहित सशस्त्र प्रहरी बलले प्रदेशभर अभियानलाई अझ तीव्र बनाइने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *