काठमाडौँ ,४ मंसिर ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले सफलतापूर्वक फेला पारेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा संचालित विशेष खोजतलास तथा निगरानी अभियानमार्फत बरामद गरिएका ती सबै सवारी साधन आज सम्बन्धित सवारीधनीहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय उपत्यकामा दुई पाङ्ग्रे सवारी चोरीका घटना बढिरहेका छन्। यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले सीसीटीभी विश्लेषण, विशेष गस्ती, र सूचनाको आधारमा प्रभावकारी खोजतलास सञ्चालन गरेको थियो। परिणामस्वरूप थुप्रै स्थानबाट चोरीका सवारी फेला पारिएका हुन्।
सम्बन्धित सवारीधनीले आफ्ना सवारी साधन सुरक्षित रूपमा फिर्ता पाउँदा खुशी व्यक्त गरेका छन्। ट्राफिक प्रहरीले भविष्यमा यस्ता आपराधिक गतिविधि रोकथामका लागि सहयोग, सतर्कता र सूचना साझेदारी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
