पर्सा प्रहरीद्वारा पौने चार करोड बराबरको अवैध मालसामान बरामद, सिमानाकाबाट ९ जनाको उद्दार

समाचार

बिरगंज, ९ मंसिर ।
सिमा सुरक्षा तथा तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित जिल्लाभरि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत पर्सा प्रहरीले पौने चार करोड रुपैयाँ बराबरको अवैध मालसामान बरामद गरेको छ । साथै सिमानाकाबाट अवैध रूपमा सीमा नाघेर भारत तर्फ लैजाने क्रममा जोखिममा परेका ९ जनाको उद्दार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा कात्तिक ७ गतेदेखि मंसिर ७ गतेसम्म सञ्चालन भएको अभियानमा अवैध तस्करी संजाललाई तोडफोड गर्दै ठूलो मात्रामा अवैध वस्तु नियन्त्रणमा लिइएको हो । सो अवधिमा बरामद भएको अवैध मालसामान तथा रकमको बजार मूल्य करिब रु. ३ करोड ७५ लाख ५० हजार ५ सय ५६ रहेको प्रहरी कार्यालयले जनाएको छ ।

पर्सा प्रहरीले जारी गरेको आ.व.२०८२/०८३ कार्तिक ७ गते देखि मंसिर ७ गते सम्मको प्रगति विवरण अनुसार श्रोत नखुलेको रु. १५ लाख नगद, ६१ क्यूफिट अवैध काठ, तथा रु. २५ हजार बराबरको अवैध नदीजन्य पदार्थ पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीको कारबाही विवरणअनुसार सो अवधिमा–

  • अदालती फैसला कार्यान्वयन : १८४ वटा
  • सचेतनामूलक कार्यक्रम : १०३ वटा
  • ट्राफिक कारबाही : ९२५ वटा
  • असुली रकम : रु. १० लाख ६८ हजार ५००
  • घरेलु मदिरा नष्ट : ७०० लिटर
  • सिमानाकाबाट उद्दार : ९ जना

यस अभियानले तस्करी नियन्त्रणसँगै सामाजिक शान्ति–सुरक्षालाई सुदृढ बनाउने लक्ष्य राखेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतका अनुसार, अवैध कारोबार र आपराधिक क्रियाकलापविरुद्ध प्रहरीले आगामी दिनमा थप कडाइका साथ अभियान जारी राख्नेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *