सशस्त्र प्रहरी पर्साद्वारा बीरगंज–१६ ईनर्वाको एरियाबाट भारी मात्रामा प्रतिबन्धित लागूऔषध बरामद

समाचार

पर्सा, १० पुस । सशस्त्र प्रहरी बल नेपाल, पर्साले लागूऔषध नियन्त्रण अभियानलाई थप तीव्र बनाउँदै भारी मात्रामा प्रतिबन्धित लागूऔषध बरामद गरेको छ। सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी पुरन चन्द्र भट्टको निर्देशनमा सञ्चालन भइरहेको अभियानअन्तर्गत उक्त सफलता हासिल भएको हो।

सशस्त्र प्रहरीका अनुसार मिति २०८२।०९।१० गते बिहान करिब ०८:०० बजे जिल्ला पर्सा, बीरगंज महानगरपालिका–१६ ईनर्वा स्थित पोखरीको डिलमा शंकास्पद अवस्थामा राखिएको बोराभित्रबाट प्रतिबन्धित लागूऔषध फेला परेको हो। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म मुख्यालय वीरगंज, पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको ७ जनाको पैदल गस्ती टोलीले नियमित गस्तीका क्रममा उक्त बोरामा खानतलासी गर्दा लागूऔषध बरामद गरेको हो।

बरामद गरिएको लागूऔषधमा ७३८ फायलमा प्याक गरिएको कुल ११ हजार ६८ ट्याब्लेट ‘नाइट्राभेट (NITRAVET–10)’ रहेको सशस्त्र प्रहरीले जनाएको छ। यो औषधि लागूऔषध ऐनअनुसार प्रतिबन्धित सूचीमा पर्ने भएकाले तत्काल नियन्त्रणमा लिइएको हो।
बरामद लागूऔषधलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी ईनर्वामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न व्यक्ति वा सञ्जालको पहिचान तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अगाडि बढाइएको जनाइएको छ।

एसपी पुरन चन्द्र भट्टले खुला सीमाको दुरुपयोग गरी हुने लागूऔषध ओसारपसार नियन्त्रण सशस्त्र प्रहरीको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै यस्ता अवैध गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको बताए। उनले आगामी दिनमा पनि सीमा क्षेत्रमा निगरानी कडा बनाइने र लागूऔषध कारोबारमा संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारे।

स्थानीय बासिन्दाहरूले सशस्त्र प्रहरीको सक्रियतालाई सकारात्मक रूपमा लिँदै सीमा क्षेत्रमा शान्ति र सुरक्षाको अनुभूति बढेको प्रतिक्रिया दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *