काठमाडौं, १४ पुस । अवैध रूपमा हतियार लुकाइछिपाइ राखिएको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–४, बाफल क्षेत्रबाट दुई थान CF–98 पेस्तोलसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मिति २०८२/०९/१० गते विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा हतियार तथा गोलीगठ्ठासहित तीन जनालाई पक्राउ गरिएको हो। हाल उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५, डल्लु निवासी ३२ वर्षीय विकास शाही (झिल्के), मोरङ जिल्ला लेटाङ नगरपालिका–४ घर भई हाल काठमाडौंमा रहेका २२ वर्षीय साहिल तिवारी तथा काठमाडौं महानगरपालिका–१३, बाफल निवासी ३३ वर्षीय अश्विन राई (जस्वन राई) रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट CF–98 नम्बर 900003308237 र 900011108236 का दुई थान पेस्तोल, सोही हतियारका म्यागजिन ३ थान, गोली २ थान र गोलीका खोका २ थान बरामद गरेको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले अवैध हतियार नियन्त्रणका लागि प्रहरीको अभियान निरन्तर जारी रहने बताएका छन्। प्रहरीले पक्राउ परेकामाथि हतियारसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको छ।
