मकवानपुर प्रहरीको ठूलो सफलता तीन महिनाको अवधिमा अवैध चौपाया ओसारपसारमा संलग्न १० जना पक्राउ, ८५ गाई–गोरु र ६ सवारी साधन नियन्त्रणमा

समाचार

हेटौंडा, १८ पुस।
मकवानपुर प्रहरीले अवैध रूपमा चौपाया (गाई–गोरु) ओसारपसार गर्ने गिरोहविरुद्ध ठूलो सफलता हासिल गरेको छ। जेन्जी आन्दोलन पश्चात् पछिल्लो तीन महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएका ८५ वटा चौपाया, ६ वटा सवारी साधन र १० जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पशु अधिकार संरक्षण, कानुन कार्यान्वयन तथा अवैध ओसारपसार नियन्त्रणलाई लक्षित गर्दै विशेष निगरानी र नियमित चेकजाँच अभियान सञ्चालन गरिएको थियो। सोही अभियानका क्रममा विभिन्न मितिमा फरक–फरक स्थानबाट चौपायासहित व्यक्तिहरू पक्राउ परेका हुन्।

मिति अनुसार गरिएको कारबाही विवरण

१.२०८२।०६।३० गते – ७ वटा चौपाया, १ वटा सवारी साधन र ३ जना व्यक्ति नियन्त्रण

२.२०८२।०७।१३ गते – २५ वटा चौपाया, १ वटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रण

३.२०८२।०७।१९ गते – २२ वटा चौपाया, १ वटा सवारी साधन र ३ जना व्यक्ति नियन्त्रण

४.२०८२।०९।१३ गते – ५ वटा चौपाया, १ वटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रण

५.२०८२।०९।१४ गते – ५ वटा चौपाया, १ वटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रण

६.२०८२।०९।१७ गते – २१ वटा चौपाया, १ वटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रण

उपरोक्त ६ वटा कारबाहीका क्रममा नियन्त्रणमा लिइएका चौपाया र व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि पशुसेवा कार्यालय हेटौंडा, मकवानपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यी ६ कारबाहीमध्ये क्र.सं. १, २ र ३ का घटनामा तीनवटा मुद्दा दर्ता गरिएको छ भने बाँकी घटनामा संलग्न व्यक्तिहरूलाई जरिवाना स्वरूप कानुनी कारबाही गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध चौपाया ओसारपसार, पशु तस्करी तथा पशु क्रूरताका घटनाहरू नियन्त्रण गर्न आगामी दिनमा पनि निगरानी र चेकजाँच अभियानलाई अझ कडाइका साथ निरन्तरता दिइने जनाएको छ। प्रहरीले नागरिकहरूलाई यस्ता गैरकानुनी गतिविधिबारे जानकारी पाए तत्काल प्रहरीलाई सूचित गर्न आग्रहसमेत गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *