२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरीद्वारा बृद्धाश्रममा खाद्यान्न तथा निःशुल्क स्वास्थ्य सेवा

समाचार

सुर्खेत, पुस २०।

२५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय तथा एपीएफ फिल्ड अस्पताल सुर्खेतको संयुक्त आयोजनामा सामाजिक उत्तरदायित्वअन्तर्गत विशेष कार्यक्रम सम्पन्न गरिएको छ।

सो अवसरमा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–३ स्थित प्रशान्ति बृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरूलाई खाद्यान्न सामग्री वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको हो।

कार्यक्रमअन्तर्गत बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूको सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या लगायतका रोगहरूको जाँच एपीएफ फिल्ड अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीद्वारा गरिएको थियो। स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको बाहिनीले जनाएको छ।

सशस्त्र प्रहरी बलले राष्ट्रको सुरक्षा मात्र नभई समाजप्रति सेवा, सहयोग र मानवीय संवेदनालाई पनि प्राथमिकतामा राख्दै आएको जनाउँदै यस्ता कार्यक्रमले जेष्ठ नागरिकप्रति सम्मान र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा सहभागी बृद्धाश्रमका जेष्ठ नागरिकहरूले खाद्यान्न तथा स्वास्थ्य सेवाबाट आफूहरू अत्यन्त लाभान्वित भएको भन्दै सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गरेका थिए।

सशस्त्र प्रहरी बल, नेपालले २५औँ स्थापना दिवसको अवसरमा देशका विभिन्न स्थानमा सामाजिक सेवा, रक्तदान, स्वास्थ्य शिविर, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यस किसिमका कार्यक्रमहरूले सुरक्षा निकाय र समुदायबीचको सम्बन्ध थप सुदृढ हुनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *