वीरगञ्ज, ७ माघ ।
नेपालका सिमाना क्षेत्र तथा बजारमा समय–समयमा देखा पर्ने जाली नोटको कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक वित्तीय ग्राहक संरक्षण इकाई वीरगञ्ज, पर्साको आयोजनामा जाली नोट सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८२/१०/०७ गते आयोजित उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक तथा नेपाल राष्ट्र बैंक वित्तीय ग्राहक संरक्षण इकाई आदर्शनगर वीरगञ्जका निर्देशन सुशिल पौडेलको सहकार्य रहेको थियो। कार्यक्रममा विभिन्न मिडिया सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अन्तरक्रियाका क्रममा जाली नोटको पहिचान गर्ने तरिका, जाली नोटको कारोबारले अर्थतन्त्र र समाजमा पार्ने नकारात्मक प्रभाव, साथै नागरिक स्तरमा अपनाउनुपर्ने सावधानीका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी सञ्चारकर्मीहरूले जाली नोट विरुद्ध जनचेतना फैलाउन मिडियाको भूमिकाबारे समेत धारणा राखेका थिए।
कार्यक्रमको अवसरमा नेपाल राष्ट्र बैंकको तर्फबाट जाली नोट सम्बन्धी जानकारीमूलक फलेक्स प्रिन्ट १० थान हस्तान्तरण गरिएको छ। उक्त सामग्रीलाई सार्वजनिक स्थल तथा बजार क्षेत्रमा प्रयोग गरी आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
कार्यक्रमले जाली नोट नियन्त्रण तथा न्यूनीकरणमा सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
