वीरगञ्ज, फागुन ५ ।वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी अग्रज समाजसेवी हाजी इद्रिस सामानी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले सोमबार उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच सम्मान सहित पार्टी प्रवेश गराउनुभएको हो।
कार्यक्रममा उम्मेदवार यादवले समाजसेवी सामानीलाई खादा ओढाएर उहाँको सामाजिक योगदानको प्रशंसा गर्नुभयो। उहाँले समाजसेवी तथा अग्रज व्यक्तित्वहरूको साथ र समर्थनले पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा स्थानीय नेता शेख जलसोद्दिन, ताज मोहम्मद, शेख जमशेद, सुभान उसमानी, इन्जिनियर आशिफ अहमद लगायतका स्थानीय अगुवा, भद्रभलादमी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले हाजी इद्रिस सामानीजस्तो समाजमा सम्मानित व्यक्तित्वको एमाले प्रवेशले पर्सा क्षेत्र नम्बर १ मा पार्टीको संगठन विस्तार तथा जनसमर्थन अझ मजबुत हुने विश्वास व्यक्त गरेका थिए।
नवप्रवेशी सामानीले देशको विकास, स्थायित्व र समृद्धिका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
