पर्सा, ११ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नन्दू श्रीवास्तवले वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ अन्तर्गत मुर्ली टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार श्रीवास्तवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना, प्रतिबद्धता र चुनावी एजेण्डाबारे जानकारी गराएका थिए। उनले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित समस्याको समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीय बासिन्दाहरूले खानेपानी, सडक, सरसफाइ, स्वास्थ्य र शिक्षासम्बन्धी विभिन्न समस्याहरू उठाउँदै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए। त्यस अवसरमा श्रीवास्तवले जनताको अपेक्षा अनुसार काम गर्ने र क्षेत्रको विकासलाई गति दिने विश्वास दिलाएका थिए।
घरदैलो कार्यक्रममा राप्रपाका स्थानीय नेता तथा कार्यकर्ता, समर्थक र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। राप्रपाले आसन्न निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नम्बर १ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ।
