निर्वाचनको सन्दर्भमा पत्रकारलाई पेसागत मर्यादामा रही कर्तव्य पालना गर्न प्रेस काउन्सिल नेपालको अपिल

समाचार

काठमाडौं, फागुन १४।प्रेस काउन्सिल नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पत्रकार तथा सञ्चारकर्मीलाई पेसागत मर्यादा कायम राख्दै तटस्थ भूमिका निर्वाह गर्न अपिल गरेको छ।
काउन्सिलका सहप्रवक्ता तथा सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय केही पत्रकार तथा सञ्चारकर्मीले सामाजिक सञ्जालमार्फत कुनै दल विशेष वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्ने, मत दिन आह्वान गर्ने, एकपक्षीय सामग्री प्रवाह गर्ने तथा कसैको पक्ष वा विपक्षमा टिप्पणी गर्ने प्रवृत्ति देखिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।


विज्ञप्तिअनुसार पत्रकार आचारसंहिता, २०७३ को दफा १४ ले पत्रकार तथा सञ्चार माध्यमले प्रयोग गर्ने सामाजिक सञ्जालमा प्रवाह हुने सामग्रीको अध्ययन तथा अनुगमन गर्ने अधिकार काउन्सिललाई दिएको छ। सोही व्यवस्था अनुरूप काउन्सिलले सामाजिक सञ्जालमा पत्रकारहरूको गतिविधि निगरानी गरिरहेको जनाएको छ।
अनुगमनका क्रममा पत्रकार आचारसंहिता, २०७३ को दफा ४(३), ४(६) तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा २५(१) (ख), (च) र (ठ) विपरीत हुने गरी कुनै दल वा उम्मेदवारको प्रचारप्रसार गर्ने, मत माग्ने, एकपक्षीय सामग्री पोस्ट, सेयर वा अपिल गर्ने कार्यहरू बढ्दो अवस्थामा देखिएको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार यस्ता गतिविधिबारे निर्वाचन आयोगमा समेत उजुरी परेका छन् र ती उजुरीका आधारमा सम्बन्धित निकायबाट अनुगमन तथा कारबाहीका लागि पत्राचार भइसकेको छ। आचारसंहिता विपरीत देखिएका पत्रकार तथा सञ्चारकर्मीलाई नोटिसमा राखी अभिलेखीकरण गरिएको तथा कतिपयलाई सचेत गराइएको पनि काउन्सिलले जनाएको छ।

काउन्सिलले निर्वाचनजस्तो संवेदनशील समयमा पत्रकार तथा सञ्चार माध्यमले कुनै दल वा उम्मेदवारको पक्षमा मत माग्ने, द्वेषपूर्ण अभिव्यक्ति प्रसारण गर्ने, मिथ्या वा भ्रामक सूचना प्रवाह गर्ने, सामाजिक सञ्जालमा पोस्ट, सेयर, लाइभ, ट्याग, मेन्सन वा कमेन्टमार्फत पक्ष–विपक्षमा सन्देश प्रवाह गर्ने कार्य नगर्न आग्रह गरेको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न पत्रकार तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै काउन्सिलले पत्रकारिताको विश्वसनीयता जोगाउन पेसागत जिम्मेवारी, तटस्थता र आचारसंहिताको पूर्ण पालना गर्न सबै सञ्चारकर्मीलाई अपिल गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *