पर्सा , १७ फागुन।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दहालको नेतृत्वमा जिल्लाका विभिन्न सिमानाकाको स्थलगत अनुगमन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी दहालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदी, सशस्त्र प्रहरी बल नेपाल पर्साका एसपी मोहन बहादुर क्षेत्री तथा नेपाली सेनाको संयुक्त सुरक्षा टोलीले जिल्लाका संवेदनशील तथा प्रमुख सिमानाकाहरूको अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा सुरक्षा निकायका प्रमुखहरूले सिमाक्षेत्रमा तैनाथ सुरक्षा व्यवस्था, आवतजावतको अवस्था, अवैध गतिविधि नियन्त्रण तथा निर्वाचनलाई लक्षित गरी अपनाइएका सुरक्षा उपायहरूको समीक्षा गरेका थिए। साथै, सिमानाकाबाट हुन सक्ने अवैध आवतजावत, तस्करी तथा निर्वाचन प्रभावित गर्ने गतिविधि रोक्न सुरक्षा सतर्कता थप कडा पारिएको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी दहालले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गर्न सबै सुरक्षा निकायबीच उच्च समन्वय कायम गरिएको जानकारी दिनुभयो। उहाँले सिमानाका क्षेत्रमा कडा निगरानी राखिएको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचन अवधिभर सिमानाकामा निगरानी बढाइने तथा सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाएको छ। सुरक्षा निकायले निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा भएको पनि बताएका छन्।
निर्वाचन नजिकिँदै जाँदा पर्साका सिमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ पारिएको र सुरक्षा निकायहरू निरन्तर सक्रिय रूपमा परिचालन भइरहेका छन्।
