वीरगञ्ज, २५ फागुन । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगञ्जले ठूलो परिमाणमा भन्सार छली गरेर भण्डारण गरिएको अवैध कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार डिएसपी विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रस्थित एक गोदामबाट भन्सार छली गरी राखिएको विभिन्न प्रकारका कपडा बरामद गरेको हो।
बरामद गरिएका सामानमा सर्टिङका कपडा, सलवार–सुट, साडी लगायत विभिन्न किसिमका रेडिमेड तथा कपडा सामग्री रहेका छन्। ती सामान भारतबाट अवैध रूपमा भित्र्याएर गोदाममा भण्डारण गरिरहेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका कपडाहरू आवश्यक कारबाही तथा मूल्याङ्कनका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल पर्साका एसपी मोहन बहादुर क्षेत्रीले सञ्चालन गरिरहेको तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै डिएसपी अधिकारीको नेतृत्वमा टोलीले चुनावी व्यस्तताका बीच पनि सक्रिय रूपमा निगरानी र कारबाहीलाई निरन्तरता दिएको बताइएको छ।
सशस्त्रका अनुसार बरामद गरिएका कपडाको प्रारम्भिक अनुमानित मूल्य १० लाख रुपैयाँ बराबर रहेको छ। यद्यपि यसको आधिकारिक मूल्याङ्कन भने भन्सार कार्यालयबाट हुने प्रक्रियामा रहेको बताइएको छ।
पछिल्लो समय वीरगञ्ज नाकाबाट हुने अवैध आयात तथा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र कारबाहीलाई थप कडा बनाएको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी मोहन निरौलाले जानकारी दिए।
