तस्करी संजालमा प्रहार : सशस्त्र प्रहरीले कपडा र मोटरसाइकलसहित ५ लाखभन्दा बढीका सामान नियन्त्रणमा

समाचार

वीरगञ्ज, २७ फागुन।
सशस्त्र प्रहरी बल नेपाल पर्साले तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै भन्सार छली गरी ल्याइँदै गरेको ठूलो परिमाणमा कपडा तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको निर्देशनमा सञ्चालन भइरहेको तस्करी नियन्त्रण अभियान अन्तर्गत बिरगंज गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको कमान्डमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार २०८२ फागुन २७ गते राति करिब २:०५ बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी क्षेत्रमा नियमित गस्तीका क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको कपडा नियन्त्रणमा लिइएको हो।

टोलीले BR 05 BL 0937 नम्बरको Pulsar र BR 05 L 5224 नम्बरको Splendor मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको अवस्थामा अन्दाजी २ लाख ७९ हजार रुपैयाँ बराबरको सुटिङ कपडा बरामद गरेको जनाएको छ।

बरामद गरिएका दुवै मोटरसाइकलको अन्दाजी मूल्य ३ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। यसरी कपडा र मोटरसाइकल गरी जम्मा ५ लाख ७९ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो।
प्रहरी टोलीलाई देखेपछि सामान ल्याउँदै गरेका व्यक्तिहरू मोटरसाइकल छाडेर भारततर्फ फरार भएका थिए।

नियन्त्रणमा लिइएको कपडा तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

स्थानीय स्रोतका अनुसार उक्त अवैध कपडा बाराको बलिरामपुर खुदिया टोला सिमानाका हुँदै पर्साको वीरगञ्ज–१६ क्षेत्रमा ल्याइँदै गर्दा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि गस्ती तथा निगरानी अझ कडा बनाइएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *