पर्सामा ग्यास, पेट्रोल र डिजेल अभाव नभएको प्रशासनको स्पष्टिकरण

समाचार

वीरगञ्ज, २८ फागुन ।
जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा जिल्लामा खाना पकाउने ग्यास, पेट्रोल र डिजेलको अभाव नरहेको स्पष्ट पारेको छ।

प्रशासनले एक सूचना जारी गर्दै हाल जिल्लामा यी पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको तथा आपूर्ति पनि नियमित रुपमा भइरहेको जनाएको छ।

नेपाल आयल निगम, ग्यास विक्रेता संघ तथा सम्बन्धित उद्योगहरूले उपलब्ध गराएको विवरणका आधारमा पर्सा जिल्लामा ग्यास, पेट्रोल र डिजेल पर्याप्त मात्रामा रहेको प्रशासनले जानकारी दिएको हो। नियमित आयात भइरहेकाले निकट भविष्यमा पनि अभाव हुने कुनै सम्भावना नदेखिएको प्रशासनको भनाइ छ।

प्रशासनले अनावश्यक रूपमा ग्यास, पेट्रोल तथा डिजेलको जम्माखोरी नगर्न तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ। यस्ता गतिविधि भएमा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

त्यस्तै, डिजेल र पेट्रोल खुल्ला रूपमा बोत्तल, ड्रम वा ग्यालेनमा बिक्री वितरण नगर्न पनि प्रशासनले निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत सन्तोष रायद्वारा जारी सूचनामा सर्वसाधारण तथा व्यवसायीलाई आपूर्ति व्यवस्थालाई प्रभाव पार्ने कुनै पनि कार्य नगर्न अनुरोध गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *