काठमाडौं ,२८ फागुन । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशकै सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । स्पष्ट बहुमतसहित रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) नयाँ सरकार गठनको तयारीमा जुटेका छन्।
निर्वाचन परिणामअनुसार रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ भने समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ । यससँगै प्रतिनिधिसभामा रास्वपाका कूल १८२ सांसद हुने भएका छन्। यो संख्या दुई तिहाइ बहुमतका लागि आवश्यक १८४ सिटभन्दा मात्र २ सिट कम हो।
यस्तो सशक्त जनमतका कारण बालेन्द्र साह नेपालको संसदीय इतिहासमै सबैभन्दा शक्तिशालीमध्येका प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ। यदि थप दुई सांसदले रास्वपा नेतृत्वको सरकारलाई समर्थन गरेमा दुई तिहाइ बहुमत पुग्नेछ।
निर्वाचन परिणामअनुसार अन्य दलहरू भने निकै पछाडि परेका छन्। नेपाली कांग्रेसले समानुपातिकतर्फ २० र प्रत्यक्षतर्फ १८ सिट जित्दै कुल ३८ सिट प्राप्त गरेको छ। नेकपा एमालेले समानुपातिकतर्फ १६ र प्रत्यक्षतर्फ ९ सिट जित्दै २५ सिट प्राप्त गरेको छ।
त्यसैगरी नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट प्राप्त गर्दै १७ सिट जितेको छ। प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ सिट पाउने भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षतर्फ १ सिट जितेर समानुपातिकबाट ४ सांसद पाउने भएको छ।
स्पष्ट बहुमतसहित रास्वपा सरकार गठनको तयारीमा लागेसँगै देशको राजनीतिक नेतृत्वमा ठूलो परिवर्तन देखिएको छ। नयाँ सरकार गठन, मन्त्रीपरिषद् विस्तार तथा आगामी नीतिगत प्राथमिकताबारे बालेन्द्र साहले आन्तरिक छलफल सुरु गरिसकेको बताइएको छ।
