बारा, ३ चैत ।
सशस्त्र प्रहरी बल बाराले तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बिशाल सिलवालको निर्देशनमा सञ्चालन भइरहेको अभियान अन्तर्गत सिमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले करिब ११ लाख रुपैयाँ बराबरको गाडी र चकलेट बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) धन बहादुर रानाको नेतृत्वमा खटिएको टोलीले बारा जिल्लाको लहरी चौक क्षेत्रबाट उक्त सामानसहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएकोमध्ये बोलेरो पिकअप गाडीको मूल्य करिब ७ लाख ५० हजार रुपैयाँ रहेको छ भने भन्सार छलि गरेर ल्याइएको चकलेटको मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार उक्त सामान अवैध रूपमा भन्सार छलि गरी नेपाल भित्र्याइएको आशंका गरिएको छ। सशस्त्र प्रहरीले नियमित गस्ती तथा निगरानीलाई प्रभावकारी बनाउँदै तस्करी नियन्त्रणमा कडाइ गरेसँगै यस्ता गतिविधिमा संलग्नहरू थप निगरानीमा परेका छन्।
बरामद गरिएको गाडी तथा चकलेटलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएको छ। साथै, घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि निगरानी थप कडा बनाउने र यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता दोहोर्याएको छ।
